हेडलाईनसमाचारगण्डकीभिमाद

मुक्तिनाथबाट फर्किएका पाँच भारतीय पर्यटक तनहुँमा अलपत्र, प्रहरीको सक्रियतामा सकुशल उद्धार

प्रहार समाचार । तनहुँ, ७ भदौ २०८३ आइतबार । पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ दर्शन गरेर भारतको सुनौलीतर्फ फर्किँदै गरेका पाँच भारतीय नागरिक तनहुँको भिमादमा बाटो बिराएर अलपत्र परेका छन् । भारतको यू पि ३२ एल बि ४६०९ नम्बरको कारमा चालकसहित पाँच जना सवार रहेको र उनीहरू गलत बाटोमा पुगेपछि आफ्नो वास्तविक स्थान पहिचान गर्न नसकेको अवस्थामा प्रहरीलाई सूचना पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको १०० नम्बरमा राति करिब ३ बजे सूचना प्राप्त भएपछि प्रहरीले तत्काल सम्भावित क्षेत्रमा खोजी तथा उद्धार टोली परिचालन गरेको थियो । सवारीसाधनसमेत बिग्रिएपछि यात्रुहरू थप समस्यामा परेको सूचना पाएलगत्तै प्रहरीले सम्भावित स्थानहरूमा खोजी तीव्र बनाएको थियो ।प्रहरी चौकी डुम्रेबेँसी तनहुँबाट खटिएको प्रहरी टोलीले भिमाद नगरपालिका–१, ढुङ्गेनीस्थित भित्री सडक खण्डमा उनीहरूलाई सकुशल फेला पारेको हो ।

उक्त सडक भिमकाली राजमार्गअन्तर्गत भिमाद हुँदै स्याङ्जा–पाल्पातर्फ जाने मार्ग हो । बाटो बिराएर उक्त क्षेत्रमा पुगेका भारतीय यात्रुहरूलाई प्रहरीले आवश्यक समन्वय गरी सुरक्षित रूपमा भिमादतर्फ पठाएको जनाएको छ ।समयमै प्रहरीलाई सूचना पुग्नु र सम्भावित क्षेत्रमा टोली परिचालन गरिनुले अलपत्र यात्रुहरूको सकुशल उद्धार सम्भव भएको हो ।

अपरिचित भित्री सडकमा सवारीसाधन बिग्रिएर रातको समयमा अलपत्र परेका यात्रुहरूलाई प्रहरीले तत्काल उद्धार गरेपछि उनीहरू थप जोखिमबाट जोगिएका छन् । प्रहरीले अपरिचित सडकमा यात्रा गर्दा मार्गबारे पूर्वजानकारी लिन तथा समस्या परे तत्काल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button