• विजय अधिकारी ( संवाददाता ) लमजुङ,६ भदौ २०८३ शनिबार । जिल्ला प्रशासन कार्यालय लमजुङले शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहलाई परिणाममुखी बनाउने लक्ष्यसहित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल र जिल्लाका पाँच अधिकारीबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको छ। सम्झौताले प्रशासनिक कामलाई जिम्मेवार, जवाफदेही र नतिजामुखी बनाउने लक्ष्य लिएको छ।

प्रमुख जिल्ला अधिकारी खनालसँग सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले सम्झौता गरेका हुन्।

सम्झौतामा जिल्लाको शान्ति–सुरक्षा मजबुत बनाउने, नागरिक सेवा सहज र गुणस्तरीय बनाउने तथा सुशासन प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै, विपद् व्यवस्थापन प्रभावकारी बनाउने, अपराध नियन्त्रण तथा अनुसन्धानमा सुरक्षा निकायबीच समन्वय बढाउने, सामाजिक सुधारका कार्यक्रम सञ्चालन गर्ने र सरकारी तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने लक्ष्यसमेत समेटिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यसम्पादन सम्झौताले जिम्मेवार अधिकारीको भूमिका र उत्तरदायित्व स्पष्ट गर्दै प्रशासनिक काममा प्रभावकारिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ। आर्थिक अनुशासन कायम गर्ने विषयलाई समेत सम्झौतामा समेटिएकाले सेवा प्रवाहसँगै प्रशासनिक सुशासन र परिणाममा जोड दिइएको कार्यालयले जनाएको छ।















