प्रहार समाचार । तनहुँ, ६ भदौ २०८३ शनिबार । धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी साइकल क्लबले पोखरादेखि तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरसम्म बृहत् साइकल यात्रा सम्पन्न भएको छ ।

‘इन्धन जोगाऔँ, वातावरण बचाऔँ–स्वास्थ्यका लागि साइकल चलाऔँ’ भन्ने नारासहित आयोजना भएको यात्रामा पोखराबाट कोत्रे, दुलेगौँडा, खैरेनीटार हुँदै ढोरबाराही मन्दिरसम्मको मार्ग तय गरिएको थियो । यात्राले तनहुँको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरबाराही क्षेत्रको प्रचारप्रसारसँगै साइकल पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको साइकल चढेर सुरुवत गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले साइकल यात्राले वातावरणीय सचेतना फैलाउँदै धार्मिक पर्यटन प्रवर्धनमा ठूलो योगदान दिने बताए ।

आयोजकका अनुसार साइकल यात्रा केवल मनोरञ्जन वा शारीरिक अभ्यासमा सीमित नभई वातावरण संरक्षण, इन्धनको बचत र स्वस्थ जीवनशैलीप्रति नागरिकलाई सचेत गराउने अभियानका रूपमा सञ्चालन गरिनेछ। ढोरबाराही मन्दिरसँगै च्यवनधामलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत यात्राले योगदान पुर्याउने विश्वास गरिएको छ।

शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा वडा नं. २, ४, ५, ६, ७, ८ र ९ का वडा कार्यालयको सहयोगमा हुने यात्रामा विभिन्न संघसंस्था सहभागी हुने आयोजकले जनाएको छ। यात्राले पोखरा–तनहुँ जोड्ने पर्यटकीय मार्गलाई साइकल यात्रामार्फत थप चिनाउन तथा धार्मिक पर्यटन र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















