हेडलाईनसमाचारबागमती

रास्वपाको केन्द्रीय समितिमा ९ नयाँ अनुहार, तीन मन्त्रीदेखि पूर्वमहामन्त्रीसम्म मनोनीत

प्रहार समाचार । काठमाडौं, ५ भदौ २०८३ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा नौ जनालाई मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । मनोनीत हुनेमा वर्तमान सरकारका तीन मन्त्रीसमेत छन् । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल केन्द्रीय सदस्य बनेका छन् ।

उनीहरू पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा सहभागी भएका थिएनन् । पार्टी नेतृत्वले सरकारमा रहेका मन्त्रीलाई समेत संगठनको केन्द्रीय संरचनामा समेटेको हो ।त्यसैगरी रास्वपाका पूर्वमहामन्त्री भूपदेव शाहलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । नेतृत्वले महाधिवेशनबाट बाहिर रहेका तथा विभिन्न पृष्ठभूमिका व्यक्तिलाई समेट्दै केन्द्रीय समिति विस्तार गरेको देखिएको छ ।

यससँगै पार्टीको केन्द्रीय संरचनामा सरकारको जिम्मेवारी सम्हालिरहेका मन्त्रीदेखि पूर्वमहामन्त्रीसम्मको प्रतिनिधित्व थपिएको छ । मनोनीत हुने अन्यमा पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्तबहादुर राई रहेका छन् । नौ जनाको मनोनयनसँगै रास्वपाको केन्द्रीय समिति थप फराकिलो बनेको छ । सभापति लामिछानेको प्रस्तावमा गरिएको यो निर्णयले पार्टीको आगामी संगठनात्मक गतिविधि र राजनीतिक रणनीतिमा नयाँ समीकरण निर्माण गर्ने संकेतसमेत गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button