प्रहार समाचार । तनहुँ, ४ भदौ २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला लाइन दमौलीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीले अचेत अवस्थामा देखेपछि उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याएका करिब ५०/५५ वर्षीय पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ भने मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। प्रहरीले उनको पहिचानका लागि हुलिया सार्वजनिक गरेको छ। उनका अनुसार मृतकले कालो सर्ट, हरियो टी–सर्ट, निलो जिन्स पाइन्ट, कालो कट्टु तथा ‘बाउण्स’ लेखिएको निलो स्पोर्ट्स जुत्ता लगाएका थिए।प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ७ इन्च र कपाल हल्का फुलेको छ।
उनको पहिचान खुल्न नसकेकाले हुलियासँग मिल्ने व्यक्ति हराएको वा आफन्त सम्पर्कविहीन भएको जानकारी भएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।















