हेडलाईनसमाचारगण्डकी

लमजुङमा सार्वजनिक सवारीमाथि कडाइ : १०४ सवारी जाँच्दा २० कारबाहीमा

प्रहार समाचार । लमजुङ, ४ भदौ २०८३ बिहीबार । सार्वजनिक यातायातलाई यात्रुमैत्री, सुरक्षित र मर्यादित बनाउन लमजुङमा गरिएको संयुक्त अनुगमनका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने २० वटा साना–ठूला सार्वजनिक सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा लमजुङ कालिका यातायात सञ्चालक प्रा.लि. र पृथ्वी राजमार्ग यातायात प्रा.लि.को आयोजनामा सुन्दरबजार नगरपालिका–७ पाउँदीमा गरिएको अनुगमनमा १ सय ४ वटा सार्वजनिक सवारीसाधन जाँच गरिएको हो ।

अनुगमन टोलीले सार्वजनिक सवारीसाधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिए/नलिएको, सवारीको स्वरूप परिवर्तन गरे/नगरेको, थप सिट, मुडा वा टुल राखे/नराखेको, प्रयोजनविपरीत सवारी सञ्चालन गरे/नगरेको तथा भाडादरको सूची अनिवार्य रूपमा टाँस गरे/नगरेको जाँच गरेको थियो । त्यस्तै आरक्षण सिटको व्यवस्था, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने–ओराल्ने, तीव्र गति नियन्त्रण, चालक तथा सहचालकको यात्रुप्रतिको व्यवहार र सवारीको समग्र अवस्थासमेत अनुगमन गरिएको थियो ।

टोलीले चालकलाई मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी नचलाउन, यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सचेत गराएको थियो । चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको १०३ मा खबर गर्नसमेत यात्रु तथा चालकलाई आग्रह गरिएको छ । आयोजकका अनुसार अभियानको उद्देश्य सार्वजनिक यातायात क्षेत्रमा देखिएका विकृति नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरण गर्नु हो ।

कार्यक्रममा लमजुङ कालिका यातायात सञ्चालक प्रा.लि.का अध्यक्ष पूर्णलाल श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रा.लि.का क्षेत्रीय संयोजक बुद्धिप्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्री, अस्थायी प्रहरी चौकी पाउँदीका प्रमुख प्रहरी सहायक निरीक्षक शुकबहादुर थापालगायतको उपस्थिति थियो । अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाहीसमेत गरिएकाले आगामी दिनमा सार्वजनिक सवारी सञ्चालनमा थप कडाइ गरिने संकेत देखिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button