प्रहार समाचार । तनहुँ, २३ साउन २०८३ शनिबार । तनहुँको व्यास नगरपालिकाको २४४औँ नियमित कार्यपालिका बैठकले नारेश्वर ताल निर्माणका लागि आवश्यक निजी जग्गा खरिद प्रक्रिया अघि बढाउनेदेखि पराशर मार्ग निर्माणको म्याद असोज मसान्तसम्म थप गर्नेसम्मका निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले भूमि व्यवस्थापन, पूर्वाधार, पर्यटन, स्वास्थ्य, युवा तथा सार्वजनिक संरचनासहितका विषयमा विभिन्न निर्णय गरेको हो।

व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माणाधीन नारेश्वर तालको जग्गा मिलानका लागि आवश्यक निजी जग्गा खरिद गर्न जग्गा प्राप्ति ऐनबमोजिम सम्बन्धित मन्त्रालयबाट अनुमति माग्ने निर्णय गरिएको छ। यस्तै, वडा नं. १० स्थित वैरेनी जग्गा एकीकरण आयोजनामा नापीका क्रममा रैतानी गुठीका रूपमा अभिलेख कायम भएका केही जग्गाका सम्बन्धमा हाललाई जग्गा विकास आयोजनाको प्रक्रियाअनुसार सम्बन्धित जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सहजीकरणका लागि भूमि प्रशासन कार्यालय, तनहुँलाई पत्राचार गर्ने निर्णय भएको छ।

विश्व बैंकको सहयोगमा निर्माणाधीन पराशर मार्गको निर्माण कार्यलाई असोज मसान्तसम्म म्याद थप गरिएको छ। तर म्याद थपसँगै निर्माण व्यवसायीले प्रत्येक हप्ता स्वयं उपस्थित भएर निर्माण कार्यको प्रगति विवरण पेश गर्नुपर्ने र असोज मसान्तभित्र काम सम्पन्न गर्ने कार्यतालिका बुझाउनुपर्ने शर्त राखिएको छ। यसैगरी, व्यास–३ स्थित खेलमैदानको आर्थिक वर्ष २०७५/७६ मा तयार गरिएको विस्तृत निर्माण प्रतिवेदनलाई हाल प्रचलित दररेटअनुसार अद्यावधिक गर्ने निर्णय गरिएको छ।व्यास–५ स्थित मानुङकोट पर्यटकीय ग्राममा निर्माण हुने संरचनाको दिगोपना तथा विपद् प्रतिरोधी क्षमता मापनका लागि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित दिगो पूर्वाधार संस्थाबाट प्राविधिक सहयोगको प्रस्ताव स्वीकृत भएको बैठकमा जानकारी गराइएको छ।

सहयोगका लागि उक्त संस्थालाई धन्यवाद दिने निर्णय गरिएको छ। त्यस्तै, पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग सहकार्य गरी दमौलीमा आँखा उपचार केन्द्र सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।नगरपालिकाले व्यास नगर युवा परिषद् गठनका लागि १५ दिने सूचना प्रकाशन गरी प्राप्त नामहरू कार्यविधिअनुसार सिफारिस गर्ने जिम्मेवारी नगर खेलकुद समितिलाई दिएको छ। सार्वजनिक पेटीमा रहेका संरचना हटाउन सहयोग गर्ने घरधनीलाई धन्यवाद दिँदै बाँकी संरचना हटाउने प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिइएको छ। बैठकले हालै सम्पन्न जनप्रतिनिधिको क्षमता विकास तालिममा प्रशिक्षण दिने पूर्वसचिव कृष्णहरि वास्कोटा र डा. शेषरमण न्यौपानेलाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरेको नगर प्रवक्ता सुरेश थापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।















