प्रहार समाचार । तनहुँ, २३ साउन २०८३ शनिबार । ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा ‘सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व’ विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार दमौलीमा सम्पन्न भएको छ।

मातृभाषाको संरक्षण, प्रवर्द्धन र सरकारी कामकाजमा यसको प्रयोगको आवश्यकता औँल्याउँदै आयोजित प्रतियोगितामा तनहुँका १७ विद्यालयबाट ३१ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।प्रतियोगितामा पञ्चमूनीदेव माध्यमिक विद्यालय, शुक्लागण्डकीकी पुनमसिंह ठकुरी प्रथम भएकी छन्। आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी समीक्षा थापा द्वितीय र सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे तृतीय भइन्। यस्तै, चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयकी सुरक्षा तिमिल्सिना, मीन माध्यमिक विद्यालयकी गंगा बानियाँ र आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी संजिता के.सी. सान्त्वना भएका छन्।

पुरस्कार वितरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मातृभाषा कुनै समुदायको पहिचान र संस्कृति संरक्षणको आधार भएकाले यसको संरक्षणसँगै सार्वजनिक सेवा प्रवाहमा प्रयोगको वातावरण बनाउनुपर्नेमा जोड दिए।
नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जा मगरले राज्यका औपचारिक संरचना र सरकारी कामकाजमा मातृभाषाको प्रयोगलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए।

महासंघका सल्लाहकार नन्दु थापाले कार्यक्रमको उद्देश्य र प्रतियोगिताले मातृभाषाप्रतिको नयाँ पुस्ताको चासो बढाउन पुर्याउने योगदानबारे जानकारी दिए।कार्यक्रममा महासंघका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, बससन्धरा घर्ती, यमबहादुर आले, ताराराम श्रेष्ठलगायत विभिन्न जातीय संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सनम तामाङले जानकारी दिए। उनका अनुसार मातृभाषाको संरक्षण केवल दिवस र औपचारिक कार्यक्रमसम्म सीमित नराखी शिक्षा, प्रशासन र सार्वजनिक जीवनमा यसको प्रयोग बढाउँदै लैजान आवश्यक छ। कार्यक्रमको सहजीकरण महासंघका सचिव जीवन गुरुङले गरेका थिए।















