• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २३ साउन २०८३ शनिबार । लमजुङको बेसीशहर नगरपालिका–३ दनैगाउँस्थित रानीकुवा–गाउँसहर भित्री पक्की सडकखण्डमा बलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आज दिउँसो रानीकुवाबाट गाउँसहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ज ००५१ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित आठ जना सवार थिए। दुर्घटनामा बेसीशहर नगरपालिका–३ गाउँसहरका ४० वर्षीया मैया दुलाल, ६१ वर्षीया राधिका घर्ती, ५० वर्षीया मैया मालुवा, ४० वर्षीय काजीराम हिमाली, ५७ वर्षीय सन्तबहादुर सार्की, ७० वर्षीया सन्तमाया नेपाली र ४५ वर्षीया रिता मगर घाइते भएका छन्। घाइतेमध्ये काजीराम हिमालीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्यको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी सहायक निरीक्षक भरत थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले दुर्घटनामा घाइते भएकाहरूको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको जनाएको छ। जिपका चालक बेसीशहर नगरपालिका–३ का ४० वर्षीय निर्मल देउजा भने दुर्घटनामा सकुशल रहेका छन्। दुर्घटनापछि प्रहरीले चालक देउजालाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक विवरणअनुसार जिप अनियन्त्रित भएर पल्टिएको भनिए पनि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।एकैपटक सात यात्रु घाइते हुने गरी भएको दुर्घटनाले उक्त सडकखण्डको यातायात सुरक्षामाथि समेत प्रश्न उठाएको छ। विशेषगरी भित्री सडकमा सवारीसाधनको गति, सडकको अवस्था र चालकको सावधानी दुर्घटनाको जोखिमसँग प्रत्यक्ष जोडिने भएकाले प्रहरीले यी पक्षलाई समेत अनुसन्धानको दायरामा राख्नुपर्ने देखिन्छ। प्रहरीले दुर्घटनाको कारण खुलाउने गरी थप अनुसन्धान भइरहेको जनाएको छ।















