प्रहार समाचार । तनहुँ, २३ साउन २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–१४ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको प्रमाणीकरणसम्बन्धी विवरण जिल्ला भूमि समस्या समाधान समिति तनहुँले सार्वजनिक गरेको छ। समितिले अनुसूची–१ (क) बमोजिम सात दिने सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको विवरण सार्वजनिक गरेको हो। तस्बिर : एआई

सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यक्तिको दाबी तथा विवरणमा कुनै त्रुटि भए सच्याउन र कसैको दाबी–विरोध भए प्रमाणसहित उजुरी दिन आग्रह गरिएको छ।समितिका अनुसार प्रमाणीकरण गरिएका व्यक्तिहरूले आफू तथा परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र कुनै जग्गा–जमिन नभएको, परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट जग्गाको व्यवस्था गर्न असमर्थ रहेको तथा विगतमा नेपाल सरकारले कुनै प्रकारको जग्गा वा जग्गाको स्वामित्वसहितको आवास उपलब्ध नगराएको विवरण पेश गरेका छन्। साथै, २०७६ माघ २८ पछि आफू वा परिवारका कुनै सदस्यको नाममा रहेको जग्गा बिक्री वा हक हस्तान्तरण नगरेको व्यहोरा समेत निवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ।

सार्वजनिक गरिएको विवरणमा लालबहादुर आले/टिका माया आले, टेककुमार श्रेष्ठ/ज्ञानी माया श्रेष्ठ, मनराज थापा/मो माया थापा, राजु सुनार, मेखबहादुर गुरुङ/सेती माया गुरुङ, विश्वकुमार बुढा/हिरा कुमारी बुढा परियार तथा आईती माया आले/तुलबहादुर आले लगायतका नाम रहेका छन्। सूचनामा केहीलाई भूमिहीन सुकुम्बासी र केहीलाई भूमिहीन दलितका रूपमा उल्लेख गरिएको छ। सरकारी जग्गा आबाद कमोत गरेको विवरणमा जग्गाको कित्ता कोड तथा अनुमानित क्षेत्रफलसमेत समावेश गरिएको छ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले निवेदनमा उल्लेखित व्यहोरा संशोधन गर्नुपर्ने भए सम्बन्धित निवेदक स्वयंले तथा कुनै उजुरी, दाबी वा विरोध भए जोसुकैले सात दिनभित्र प्रमाणसहित निवेदन दर्ता गराउन आग्रह गरेको छ।

स्थानीय तहमार्फत सिफारिस तथा प्रमाणीकरण भई जिल्ला समितिमा विवरण प्राप्त भएका आधारमा सूचना प्रकाशित गरिएको जनाउँदै समितिले तोकिएको प्रक्रिया पूरा भएपछि भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई प्रचलित मापदण्डअनुसार जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत विवरण सार्वजनिक गरेको हो।















