प्रहार समाचार । तनहुँ, २३ साउन२०८३ शनिबार । स्थानीय दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य वस्तुको बजारीकरणलाई सहज बनाउने उद्देश्यले तनहुँ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले व्यास नगरपालिका–१, मिलन टोल भादगाउँमा ‘डेरी मार्ट’ सञ्चालनमा ल्याएको छ। उपभोक्ताले दूध, दहीदेखि घिउ, पनिर, आइसक्रिम, नौनी, खुवा र मोहीसम्मका दुग्धजन्य सामग्री एउटै छानामुनिबाट खरिद गर्न सक्ने गरी सञ्चालनमा ल्याइएको डेरी मार्टको व्यास–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष हड्खलेले स्थानीय किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य वस्तुको बजार विस्तारका लागि डेरी मार्ट महत्वपूर्ण हुने बताए। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवरले डेरी मार्ट सञ्चालन पछि स्थानीय उत्पादनले सहज बजार पाउने र उपभोक्ताले ताजा तथा गुणस्तरीय दुग्धजन्य सामग्री खरिद गर्न पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

संघका अध्यक्ष तुलसीराम सापकोटाले डेरी मार्टमा संघमार्फत उत्पादित तथा उपलब्ध गराइने विभिन्न दुग्धजन्य सामग्री बिक्रीमा सहजता हुने उल्लेख गर्दै उपभोक्ताको मागअनुसार आगामी दिनमा उत्पादन र सामग्रीको विविधता थप गर्दै लैजाने योजना रहेको बताए। किसानले उत्पादन गरेको दूध व्यवस्थित रूपमा संकलन, प्रशोधन र बजारीकरण गर्दै प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

संघले ‘किसानको उत्पादनदेखि उपभोक्ताको भान्सासम्म प्रत्यक्ष पहुँच’ स्थापित गर्ने लक्ष्यसहित डेरी मार्ट सञ्चालनमा ल्याएको जनाएको छ। मार्ट सञ्चालनमा आएपछि व्यास–१ भादगाउँ तथा आसपासका बासिन्दालाई दैनिक आवश्यक पर्ने दूध तथा दुग्धजन्य सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानको उत्पादनले उचित बजार पाउने र उपभोक्ताले विश्वासिलो स्थानबाट स्वच्छ, ताजा तथा गुणस्तरीय दुग्धजन्य सामग्री पाउने वातावरण बनाउने संघले जनाएको छ।
















