प्रहार समाचार । तनहुँ, २३ साउन २०८३ शनिबार । तनहुँको भानु नगरपालिका–१ र ५ जोड्ने जलवीरे–ढाडखोला मोटरेवल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँच गरेको छ। पुल निर्माणको प्रारम्भिक तयारीस्वरूप प्राविधिक टोलीले आवश्यक भौगोलिक तथा प्राविधिक अवस्थाबारे अध्ययन गरेको हो।

स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको समेत सहभागिता रहेको थियो। पुल निर्माण भएपछि भानु नगरपालिका–१ र ५ बीचको आवागमन सहज हुनुका साथै स्थानीयवासीको दैनिक आवतजावत, कृषि उपजको ओसारपसार तथा अन्य आर्थिक गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ।चालु आर्थिक वर्षमा पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। तर, उक्त बजेटबाट पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न पर्याप्त नहुने प्राविधिक तथा प्रारम्भिक अवस्थाको मूल्याङ्कनपछि देखिएको जनाइएको छ।

आवश्यक बजेट सुनिश्चित नहुँदा पुल निर्माण कार्य अधुरो रहने अवस्था आउन सक्ने भएकाले थप स्रोत व्यवस्थापनको पहल अघि बढाइएको हो। नगर प्रमुख त्रिपाठीले पुल निर्माणका लागि आवश्यक थप बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा पूर्वाधार विकास मन्त्रालयका सचिवसँग भेट गरी योजनालाई बहुवर्षीय योजनामा समावेश गर्न आग्रह गरेका छन् छ। नगरपालिकाले पुल निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट व्यवस्थापन र योजना कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।















