प्रहार समाचार । काठमाडौं, २३ साउन २०८३ शनिबार । बजारमा एलपी ग्याँसको अभाव चर्किएको छ। उपभोक्ता ग्याँस खोज्दै पसल–पसल धाइरहेका छन्, सरकारमाथि आपूर्ति सहज बनाउन दबाब बढिरहेको छ। प्रतिनिधिसभामै आफ्नै दलका सांसदले सरकारको कामकारबाही र ग्याँस अभावबारे प्रश्न उठाए। तर, तत्काल उपभोक्ताले भोगिरहेको संकटबारे स्पष्ट जवाफ दिनुको सट्टा प्रधानमन्त्री बालेन शाहले बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधार भइरहेको दाबी गर्दै उपलब्धिको लामो सूची सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले फेसबुकमार्फत नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा सुधार भइरहेको दाबी गरेका छन्। नेपाल औषधि लिमिटेडले पछिल्ला चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको, गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको र चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको बिक्री लक्ष्य राखिएको उनको भनाइ छ। त्यस्तै, लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु भएको, नेपाल वायुसेवा निगमको आम्दानी बढेको तथा डीडीसीको किसान भुक्तानी चक्र छोट्याइएको उनले उल्लेख गरेका छन्।

सिंहदरबार वैद्यखानाको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढेर करिब १३ करोड रुपैयाँ पुगेको र हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको दाबी पनि प्रधानमन्त्रीले गरेका छन्। सरकारले आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिएको तथा औषधि उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास भइरहेको उनको भनाइ छ। प्रधानमन्त्रीले यी तथ्यांकलाई सरकारको सुधारको संकेतका रूपमा प्रस्तुत गर्दै ‘ढिलो होला, तर गलत हुँदैन’ भन्ने सन्देश दिएका छन्।
तर, प्रश्न ग्याँसको हो, जवाफ उद्योगको आयो। बजारमा एलपी ग्याँस अभाव किन भयो, आपूर्ति कहिलेसम्म सहज हुन्छ, उपभोक्ताले भोगिरहेको समस्या समाधान गर्न सरकारले के ठोस कदम चालिरहेको छ र दोषी भए कसैमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने मूल प्रश्न भने प्रधानमन्त्रीको वक्तव्यमा अनुत्तरित छ।

तत्कालको समस्या सम्बोधन नगरी सरकारी संस्थानका उपलब्धि गनाउनु सरकारका लागि राजनीतिक बचाउको प्रयास मात्रै हो कि सुधारको वास्तविक प्रतिवेदन, त्यसको परीक्षण अब व्यवहारमै हुने देखिन्छ। प्रधानमन्त्रीले ‘नआत्तिनुहोस्’ भने पनि ग्याँसको लाइनमा उभिएका उपभोक्ताका लागि आश्वासनभन्दा ग्याँस कहिले सहज हुन्छ भन्ने ठोस जवाफ महत्वपूर्ण छ।















