हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको सूचना कागजमै सीमित ! नगरपालिकाको अल्टिमेटम सकियो, अवैध संरचना यथावत्

प्रहार समाचार । तनहुँ, २२ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिकाले सडक पेटी, नाला तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन जारी गरेको दोस्रो सार्वजनिक सूचनाको समयसीमा सकिएको एक साताभन्दा बढी बितिसक्दा पनि अधिकांश संरचना यथावत् रहेका छन्। हेरौं व्यास २, मालपोत लाईनमा नाला अगाडी सिमेन्टेड पिल्लर ठडाएर बनाइएको संरचना :

नगरपालिकाले साउन १५ गतेभित्र सम्बन्धित घरधनी तथा व्यवसायीलाई स्वयं संरचना हटाउन निर्देशन दिएको थियो। तर समयसीमा सकिए पनि बजार क्षेत्रमा केही सामान्य टिनका छाना हटाइएको बाहेक पक्की संरचना, र्‍याम्प, सिँढी, टिनका छज्जा तथा सार्वजनिक स्थान ओगटेका संरचनामाथि कुनै प्रभावकारी कारबाही भएको देखिएको छैन। नगर कार्यपालिकाको २४३औँ नियमित बैठकको निर्णयअनुसार वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका संरचना हटाउने निर्णय गरिएको थियो। सूचनामा अटेरी गरे नगरपालिकाले प्रचलित कानुनबमोजिम संरचना हटाई आवश्यक कारबाही अघि बढाउने उल्लेख थियो। तर निर्धारित समय सकिएको सात दिन बितिसक्दा पनि नगरपालिकाले आफ्नै सूचनाको कार्यान्वयन नगर्दा निर्णयको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

स्थानीयवासीले व्यास नगरपालिका–२ मालपोत लाइन क्षेत्रमा नालामाथि पिल्लर ठड्याएर निर्माण गरिएको एक पक्की भवनप्रति समेत गम्भीर प्रश्न उठाएका छन्। सार्वजनिक नालामाथि निर्माण भएको भनिएको उक्त भवनको नक्सा कसरी स्वीकृत भयो, कुन प्राविधिक वा इन्जिनियरको सिफारिसमा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरियो, त्यसक्रममा कुनै अनियमितता वा आर्थिक चलखेल भयो कि भएन भन्ने विषयमा निष्पक्ष छानबिनको माग स्थानीयले गरेका छन्। यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेर व्यापार सञ्चालन गर्ने क्रमसमेत नगर क्षेत्रमा बढ्दो रहेको उनीहरूको गुनासो छ।स्थानीयको आरोपअनुसार व्यास–२ स्थित डाङ्ग्रे खोल्सीमाथि ढलान गरेर वडा कार्यालयकै पहलमा व्यायामशाला निर्माण गरिएको विषयले पनि नगरपालिकाको भूमिकामाथि प्रश्न खडा गरेको छ। व्यास २, डांग्रेखोल्सी ढलान गरि निर्माण गरिएको व्यायम शाला :

सार्वजनिक खोल्सामाथि स्थानीय तह स्वयंले संरचना निर्माण गरेको आरोप सत्य भए त्यसले अवैध संरचना हटाउने अभियानको नैतिक आधार कमजोर बनाउने सरोकारवालाको भनाइ छ। नगरपालिकाले आफ्नै संरचनाबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म नागरिकलाई मात्र कानुन पालना गर्न आग्रह गर्नु पर्याप्त नहुने टिप्पणी भइरहेको छ।सार्वजनिक जग्गा, चौतारा, चौर तथा खोल्सीसमेत व्यक्तिका नाममा दर्ता भएका भन्ने आरोपसमेत सार्वजनिक भइरहेका बेला व्यास नगरपालिकाले आफ्नो सूचनाको प्रभावकारी कार्यान्वयन कहिले सुरु गर्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।

व्यास नगरप्रमुख बैकुष्ठ न्यौपानेले यस अघि पटक पटक अबैध संरचनाहरू हटाइने कुरा बताएका थिए । पछिल्लो समय नगरपालिकाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरी अवैध संरचनामाथि निष्पक्ष र समान रूपमा कानुनी कारबाही अघि बढाउने कि नगर्ने भन्ने विषय अहिले नगरवासीको चासोको केन्द्र बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button