प्रहार समाचार । काठमाडौँ, २४ साउन २०८३ आइतबार । पूर्वअर्थमन्त्री तथा वरिष्ठ अर्थशास्त्री डा. प्रकाशचन्द्र लोहनीले मुलुकको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाप्रति व्यंग्य गर्दै सरकारका विभिन्न निकायबीच समन्वयको अभाव देखिएको टिप्पणी गरेका छन्।

लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारका विभिन्न जिम्मेवार निकायले समस्या पहिचान गर्न एकअर्कालाई प्रश्न गर्ने तर समाधानका लागि आवश्यक जिम्मेवारी लिन नसकेको संकेत गर्दै वर्तमान अवस्थाप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनले पछिल्लो समय देशमा एउटा नयाँ किसिमको ‘खेल’ चलिरहेको जस्तो देखिएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री व्यापारीहरूसँग भेटघाटमा व्यस्त हुँदै ‘किन अर्थतन्त्र अगाडि बढ्न सकेन?’ भन्ने प्रश्न गरिरहेका छन्। तर प्रधानमन्त्रीले यस्तो प्रश्न गर्दा अर्थमन्त्री भने त्यहाँ उपस्थित नहुने अवस्था रहेको उनले उल्लेख गरेका छन्। लोहनीले अर्थमन्त्रीले पनि कम नगरेको भन्दै व्यंग्य गरेका छन्। उनका अनुसार अर्थमन्त्रीले राष्ट्र बैंकका कर्मचारीहरूसँग गम्भीर रूपमा ‘किन देश अगाडि बढ्न सकेन? किन लगानी हुन सकेन?’ भन्ने प्रश्न गरिरहेका छन्। तर राष्ट्र बैंकका कर्मचारीसँग यस्तो प्रश्न गर्दा राष्ट्र बैंकका गभर्नर भने अगाडि नहुने अवस्था रहेको उनको टिप्पणी छ।
गृह प्रशासनतर्फ पनि अवस्था उस्तै रहेको लोहनीको भनाइ छ। उनका अनुसार गृहमन्त्रीले ‘जनतामा हामीप्रति विश्वास किन छैन?’ भन्ने प्रश्न गरिरहेका छन्। तर त्यसको पृष्ठभूमिमा पहिले पक्राउ गर्ने र पछि प्रमाण खोज्न हिँड्ने प्रवृत्ति कायम रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।लोहनीले पक्राउ परेका व्यक्तिलाई पर्याप्त प्रमाण नपुगेका कारण अदालतबाट छाड्नुपर्ने अवस्था आउने गरेकोतर्फ पनि संकेत गरेका छन्। उनले यस्तो कार्यशैलीलाई राज्यको प्रशासनिक तथा कानुनी प्रक्रियाप्रतिको गम्भीर प्रश्नका रूपमा प्रस्तुत गरेका छन्।
त्यसैगरी, प्रधानमन्त्रीको सचिवालयमाथि पनि उनले व्यंग्य गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीको सचिवालय संवैधानिक अंगका प्रमुखहरूलाई ‘शिवपुरी पठाइदिने’ उर्दी जारी गर्ने काममा व्यस्त देखिएको छ। सरकारका महत्वपूर्ण निकायबीच समन्वय र सहकार्य हुनुपर्ने समयमा शक्ति प्रदर्शन र निर्देशनमुखी शैली हावी भएको उनको संकेत छ। लोहनीले निजी क्षेत्रको मनोविज्ञानप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार निजी क्षेत्र अहिले लगानी विस्तार गर्नेभन्दा आफूले कमाएको सम्पत्ति र व्यवसाय जोगाएर यो अवस्थाबाट कसरी उम्कने भन्ने मानसिकतामा पुग्दै गएको देखिन्छ। उनले वर्तमान अवस्थालाई फुटबलको उदाहरणसँग तुलना गरेका छन्। ‘फुटबलका ११ खेलाडी एघारैतिर बल हानिरहेका छन् र कसले के गर्दै छ भन्ने कुरा कसैलाई थाहा छैन’ भन्ने भावमा उनले सरकारका विभिन्न निकायबीचको समन्वयहीन अवस्थाप्रति व्यंग्य गरेका छन्। लोहनीका अनुसार अहिले सबै जना एकअर्कालाई ‘देखाइदिने’ मनस्थितिमा देखिन्छन्। तर त्यसको प्रत्यक्ष असर भने सर्वसाधारण नागरिकले भोगिरहेका छन्। देशमा बढ्दो बेरोजगारी, महँगी र तनावपूर्ण वातावरणका बीच नेपाली जनता भने दर्शक बनेर अन्योलमा बस्नुपरेको उनको टिप्पणी छ।
देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने समयमा राज्यका जिम्मेवार निकायबीच स्पष्ट नीति, समन्वय र जिम्मेवारीको अभाव देखिनु गम्भीर विषय भएको उनको भनाइको आशय छ।लोहनीले आफ्नो टिप्पणीमार्फत वर्तमान सरकार र राज्य संयन्त्रले एकअर्कालाई प्रश्न गर्नेभन्दा पनि समस्या समाधानका लागि आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने सन्देश दिएका छन्।नेपालको आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रको मनोबल र राज्य संयन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गएको अवस्थामा सरकारको ध्यान तत्काल परिणाम दिने आर्थिक तथा प्रशासनिक सुधारतर्फ केन्द्रित हुनुपर्ने उनको अभिव्यक्तिको मूल आशय देखिन्छ।डा. लोहनी नेपालका राजनीतिज्ञ तथा अर्थशास्त्री हुन्। उनी विगतमा पटक–पटक अर्थमन्त्री तथा परराष्ट्रमन्त्रीलगायतका जिम्मेवारीमा समेत रहिसकेका छन्। विभिन्न समयका सरकारमा अर्थमन्त्रीका रूपमा काम गरिसकेका लोहनीले पछिल्लो समय पनि मुलुकको आर्थिक नीति, सरकारको कार्यशैली र अर्थतन्त्रका विषयमा निरन्तर टिप्पणी गर्दै आएका छन्।















