• विजय अधिकारी ( प्रहार संवाददाता ) काठमाडौं, २८ असार २०८३ आइतबार । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। आज नेपालीकी आमालाई भेट्दै बस्नेतले तत्काल राहतस्वरूप उक्त रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीको पनि उपस्थिति रहेको थियो।बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमाको स्नातक तहसम्मको अध्ययनको सम्पूर्ण जिम्मेवारी आफूले लिने घोषणा गरेका छन्। उनले परिवारलाई परेको पीडामा साथ दिन आफू प्रतिबद्ध रहेको जनाउँदै छोरीको उच्च शिक्षाका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने बताएका हुन्।सहयोग हस्तान्तरणका क्रममा बस्नेतले मृतकको परिवारलाई तत्काल दैनिक जीवन सहज बनाउन र पौष्टिक आहार व्यवस्थापनका लागि एक लाख रुपैयाँ उपलब्ध गराइएको बताए।

“जसको मृत्यु भएको छ, उहाँको परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले तत्काल एक लाख रुपैयाँको व्यवस्था गरेको हुँ। छोरीलाई स्नातक तहसम्म पढाउन आवश्यक सबै सहयोग गर्नेछु,” उनले भने। गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाहको प्रयास गरेका थिए। घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो। उक्त घटनापछि विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट परिवारलाई राहत र सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ।














