हेडलाईनव्याससमाचारगण्डकी

सरकार सुतेपछि तनहुँका युवाको श्रमदान : नाइन्टिज क्लबले सडक मर्मत गर्दै देखायो जिम्मेवारी

प्रहार समाचार । तनहुँ, २७ असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–५ मा सडक जीर्ण बन्दै जाँदा सम्बन्धित निकाय मौन बसेपछि स्थानीय युवाहरू आफैं सडक मर्मतमा जुटेका छन्। द नाइन्टिज युवा क्लबका सदस्यहरूले श्रमदानमार्फत सडकका खाल्डाखुल्डी पुर्ने, सडक सम्याउने र नाली सफा गर्ने काम गर्दै समुदायप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन्।

वर्षायामसँगै सडक थप बिग्रिएर सर्वसाधारणलाई आवतजावतमा सास्ती हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि युवाहरूले सरकारी निकायको प्रतीक्षा नगरी आफैं अग्रसरता लिएका हुन्। सडक मर्मत राज्यको दायित्व भए पनि नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा सम्बन्धित निकायको निष्क्रियताले प्रश्न उठाएको स्थानीयवासी बताउँछन्। क्लबका अध्यक्ष एक कुमार श्रेष्ठले सडकको दीर्घकालीन स्तरोन्नतिका लागि सम्बन्धित निकायले तत्काल आवश्यक योजना र बजेटसहित काम अघि बढाउनुपर्ने बताए।

उनका अनुसार श्रमदानले तत्काल समस्या केही हदसम्म समाधान गरे पनि यो स्थायी विकल्प नभएको स्पष्ट छ। स्थानीय बासिन्दाले युवाहरूको सामाजिक उत्तरदायित्व, एकता र सक्रियताको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यस्तो अभियानले समुदायमा सकारात्मक सन्देश दिएको मात्र होइन, जनप्रतिनिधि र सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न पनि दबाब सिर्जना गरेको छ।

सडक मर्मतमा युवाहरूले देखाएको सक्रियता अनुकरणीय भए पनि विकास निर्माणको जिम्मेवारी नागरिकको काँधमा थोपर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। सम्बन्धित निकायले अब पनि चासो नदिए नागरिकले यस्ता समस्यामा अझ सशक्त आवाज उठाउनुपर्ने आवश्यकता देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button