प्रहार समाचार । तनहुँ, २७ असार २०८३ शनिबार । व्यास नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५५ करोड ३० लाख १ हजार रुपैयाँ बराबरको बजेट संशोधनसहित पारित गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले बजेटसँगै आर्थिक विधेयक, विनियोजन विधेयक र ऊर्जा विकास विधेयक २०८३ समेत पारित गर्दै नगरसभाको अधिवेशन सम्पन्न गरेको हो।

पारित बजेटमध्ये १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ चालु तथा ५२ करोड ९२ लाख ३९ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।नगरसभाले उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गरेको बजेट, न्यायिक समितिको प्रतिवेदन तथा पूर्वाधार, सामाजिक, आर्थिक, सुशासन, वन तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुद, विधायन र लेखा समितिका प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ। सभाले ती सबै प्रतिवेदनलाई रातो किताबमा प्रकाशन गर्न निर्देशन समेत दिएको छ।
बैठकले व्यास नगरपालिकालाई ‘छुवाछुत मुक्त नगरपालिका’ घोषणा गर्दै उक्त घोषणाको पूर्ण कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको छ। साथै छुवाछुतका घटना भए पीडितको तर्फबाट आवश्यक कानुनी उपचारको सम्पूर्ण दायित्व नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको छ। महिलाहरू तथा ‘क’, ‘ख’ र ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णय पनि नगरसभाले गरेको छ।
नगरसभामा बजेट तथा विभिन्न विधेयकमाथि वडा नम्बर १ देखि १४ सम्मका विभिन्न नगरसभा सदस्यहरूले छलफलमा भाग लिँदै विकास आयोजना, सेवा प्रवाह, पूर्वाधार, सामाजिक विकास र सुशासनसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझावलाई समेटेर बजेट तथा विधेयकहरू संशोधनसहित पारित गरिएको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिएका छन्।नगरसभाले पारित गरेका निर्णयसँगै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम, बजेट तथा कानुनी आधार कार्यान्वयनको बाटो खुलेको छ। नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह, सामाजिक न्याय तथा सुशासनलाई प्राथमिकतामा राखेर आगामी वर्षका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।














