हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङको दोर्दीका कृषकलाई यान्त्रीकरणतर्फ अघि बढाउँदै गाउँपालिका

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २७ असार २०८३ शनिबार । कृषि उत्पादनलाई आधुनिक, सहज र व्यावसायिक बनाउने उद्देश्यसहित लमजुङको दोर्दी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ९० वटा विभिन्न कृषि यन्त्र कृषक तथा कृषक समूहलाई वितरण गरेको छ। गाउँपालिकाले कृषि यान्त्रीकरण तथा नगदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत मिनी टिलरदेखि इलेक्ट्रिक ड्रायरसम्मका उपकरण हस्तान्तरण गर्दै कृषिमा प्रविधिको प्रयोग बढाउने अभियानलाई अघि बढाएको हो।

गाउँपालिकाका अनुसार वितरण गरिएका उपकरणमा ६१ वटा मिनी टिलर, चार वटा कफी पल्पर मेसिन, पाँच वटा ग्रास कटर मेसिन, १७ वटा मकै छोडाउने मेसिन र तीन वटा इलेक्ट्रिक ड्रायर रहेका छन्। यी सबै गरी ९० वटा कृषि यन्त्र कृषक तथा कृषक समूहलाई हस्तान्तरण गरिएको जनाएको छ।कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वितरण गरिएका उपकरणको प्रभावकारी उपयोग गर्न कृषकलाई आग्रह गर्दै कृषि क्षेत्रको आधुनिकीकरणसँगै उत्पादन र आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए।

उनले आगामी वर्षहरूमा पनि कृषकमुखी अनुदान तथा प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारे। गाउँपालिकाका अनुसार कृषि यन्त्रको प्रयोगले खेतीपातीलाई श्रममैत्री, समय बचत गर्ने र उत्पादनमुखी बनाउने विश्वास गरिएको छ। कृषिमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button