प्रहार समाचार । तनहुँ, २७ असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–१२ कमलावारीका ३६ वर्षीय हरि परियार गत वैशाख १७ गतेदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार परियार उनि ऋषिङ गाउँपालिका–१ तल्लो कोइदिमा एमपी कम्पनीले ठेक्का लिएको सडक निर्माण आयोजनामा मजदुरका रूपमा काम गर्न गएको बताएका थिए। उनि त्यहाँ काम नगरेको तथा हाँजिर समेत नभएको बताइएको छ । तर त्यसै दिन राति करिब ९ बजेदेखि उनी बेपत्ता भएको परिवारको भनाइ छ।

हराएका परियारलाई स्थानीयले जेठ ८ गते ऋषिङ–१ को कोइदिमघाट क्षेत्रमा अन्तिम पटक देखेको बताएका छन्। त्यसपछि सराङघाट, घुमाउनेलगायत आसपासका क्षेत्रहरूमा निरन्तर खोजी गर्दा पनि उनको अवस्था खुल्न नसकेको स्थानीय स्रोतले जनाएको छ। हाल उनी कहाँ छन्, जीवित छन् वा छैनन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। घटनाका विषयमा एमपी कम्पनीसँग सम्बन्धित पेमा शेर्पाले भने हरि परियार आफ्नो कार्यस्थलमा काम गर्न नआएको र कम्पनीको हाजिरीमा समेत नगरेको बताए । उनले आफूहरूले पनि हराएका व्यक्तिको खोजीमा सहयोग गरिरहेको उल्लेख गर्दै आफूमाथि अनावश्यक आरोप लगाइएको, परिवारबाट मानसिक दबाब तथा प्रहरीमा उजुरी गरेर दुःख दिइएको भन्दै उनले गुनासो गरेका छन्।

यता परियारकी बहिनी कल्पना परियारले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा दाजुको खोजी गरिदिन निवेदन दर्ता गराएकी छन्। परिवारले हरि परियारको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। हरि परियारको बारेमा कसैलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय तनहुँमा तत्काल जानकारी गराइदिन परिवारले सबैमा अनुरोध गरेको छ। प्रहरीले पनि घटनाबारे आवश्यक अनुसन्धान तथा खोजी कार्य जारी रहेको जनाएको छ।














