प्रहार समाचार । तनहुँ, २७ असार २०८३ शनिबार । मुग्लिङ–पोखरा सडकखण्डमा वर्षायामसँगै बढ्न सक्ने सडक दुर्घटनालाई नियन्त्रण गर्न तनहुँ प्रहरीले बिहानैदेखि कडा चालक सचेतना अभियान सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त टोलीले आज बिहान ४ बजेदेखि उक्त सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको हो।

प्रहरीका अनुसार सडकको कमजोर अवस्था, वर्षायामको प्रतिकूल मौसम, लेन अनुशासनको उल्लङ्घन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढेकाले विशेष निगरानीसहित अभियान सञ्चालनगरिएको हो। चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन, निर्धारित लेनमा मात्र सञ्चालन गर्न, गति नियन्त्रणमा राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।

अभियानका क्रममा दुई पाङ्ग्रे सवारी साधनका ३२ चालक, चार पाङ्ग्रे साना सवारी साधनका ४७ चालक तथा ठूला सवारी साधनका ४९ चालकलाई प्रत्यक्ष रूपमा सचेत गराइएको छ। प्रहरी टोलीले सडकको अवस्था र मौसमलाई ध्यान दिन आग्रह गरिएको थियो ।















