प्रहार समाचार । काठमाडौँ, २७ असार २०८३ शनिबार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा हुने भएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले वर्षाको गतिविधि बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।महाशाखाले शनिबार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहने जनाएको छ। हिमाली र पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव, नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
आज रातिसमेत मौसम पूर्ण रूपमा नखुल्ने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र तथा कोशीको पहाडी र गण्डकी–लुम्बिनीका तराईका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।














