प्रहार समाचार । तनहुँ, २४ असार २०८३ बुधबार । तनहुँको आँबुखैरेनीस्थित लियो क्लब अफ आँबुखैरेनी सिटीको वर्ष २०२६/२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। लायन्स क्लब अफ आँबुखैरेनी सिटीको भातृ संस्थाका रूपमा रहेको क्लबको अध्यक्षमा मनोज बास्तोला सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमिति चयनसँगै प्रथम उपाध्यक्षमा विकल्प अर्याल, सचिवमा मनिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरुङ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको क्लबले जनाएको छ। यसका साथै अन्य विभिन्न पदहरूमा पनि सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको जानकारी दिइएको छ। नव निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बधाई दिँदै आगामी कार्यकालमा सामाजिक सेवा, युवाको नेतृत्व विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।
क्लबले युवाहरूको क्षमता अभिवृद्धि र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। लियो क्लब युवाहरूको सक्रिय सहभागितामा सञ्चालन हुने अन्तर्राष्ट्रिय सामाजिक संस्था हो। क्लबले समाजसेवा, नेतृत्व विकास, जनचेतनामूलक कार्यक्रम तथा सामुदायिक हितका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा क्लबका सामाजिक तथा सेवामूलक गतिविधि अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।














