हेडलाईनसमाचारगण्डकी

लागुऔषध सेवन गरेर बस चलाउने तनहुँका चालक पक्राउ, लाइसेन्स निलम्बन प्रक्रियामा

प्रहार समाचार । तनहुँ, २४ असार २०८३ बुधबार । कास्की प्रहरीले लागुऔषध सेवन गरेर सार्वजनिक बस चलाइरहेका तनहुँ घर भएका बस चालकलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडी बढाएको छ ।

पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रस्थित सवारी चेकजाँचका क्रममा पोखरा–दमौली रुटमा सञ्चालन हुँदै आएको ग१ख ९६४७ नम्बरको सार्वजनिक बसका चालक तनहुँको भिमाद नगरपालिका–२ भानुमती निवासी ३० वर्षीय अभिनास गुरुङ लागुऔषध सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका हुन्। बसमा त्यसबेला १८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो करिब २ बजे नियमित सवारी चेकजाँचका क्रममा चालकको अवस्था शंकास्पद देखिएपछि परीक्षण गरिएको थियो। परीक्षणबाट लागुऔषध सेवन गरेको पुष्टि भएपछि चालक गुरुङलाई तत्काल नियन्त्रणमा लिई थप कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय रामबजार पठाइएको हो। प्रहरीले सार्वजनिक सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्र नभई यात्रुको ज्यानसँग प्रत्यक्ष खेलबाड हुने कार्य भएको जनाएको छ।

चालकको लापरबाहीका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने भएकाले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको प्रहरीले स्पष्ट गरेको छ। यसैबीच, पक्राउ परेका चालक अ गुरुङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको प्रक्रिया अघि बढाउन आवश्यक कागजातसहित यातायात व्यवस्था कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले सार्वजनिक सवारी चालकलाई मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन चेतावनी दिँदै यस्ता कसुरमा संलग्न जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button