प्रहार समाचार । तनहुँ, २४ असार २०८३ बुधबार । तनहुँको दमौलीस्थित व्यास नगरपालिका–२, न्युरोडमा ‘रिमै कलेक्सन’ (क्लोथिङ स्टोर) सञ्चालनमा आएको छ। स्टोरको व्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुङले आज उद्घाटन गर्दै स्थानीय स्तरमा सञ्चालनमा आउने व्यवसायले रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा स्थानीय बजारको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।

गुणस्तरीय सेवा, ग्राहकको विश्वास र व्यवसायिक अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सञ्चालकलाई आग्रह गरे। स्टोरका सञ्चालक गलबहादुर गुरुङका अनुसार पछिल्लो समय विशेषगरी आदिवासी जनजाति समुदायको मौलिक पहिरनप्रतिको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै गुणस्तरीय, आकर्षक तथा सहज मूल्यका कपडा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘रिमै कलेक्सन’ सञ्चालनमा ल्याइएको हो। आधुनिक फेसनसँगै मौलिक पहिरनको संरक्षण र प्रवर्द्धनमा समेत स्टोरले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।


उद्घाटनको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै स्टोरमा उपलब्ध विभिन्न प्रकारका कपडामा २० देखि ३० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ। उक्त छुट सीमित अवधिसम्म मात्र लागू हुने भएकाले अवसरको सदुपयोग गर्न ग्राहकलाई आग्रह गरिएको सञ्चालक गलबहादुर गुरुडले जानकारी दिए।

समारोहमा तमुह्युल छोंज धीँ जिल्ला अध्यक्ष देवबहादुर गुरुङ, जिल्ला सचिव श्रावण गुरुङ, कोषाध्यक्ष रणबहादुर गुरुङ, जिल्ला सल्लाहकार पन्छ गुरुङ, तमुस्यो ह्युलका केन्द्रीय सदस्य सबिना गुरुङ, व्यास नगर तमु सुधार समाजका अध्यक्ष गिरबहादुर गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपालका केन्द्रीय सदस्य टार्जन गुरुङ तथा तमु सेवा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘रिमै कलेक्सन’को सफल व्यवसायिक यात्राको शुभकामना व्यक्त गर्दै स्थानीय बजारमा गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेका थिए।
















