• विजय अधिकारी ( प्रहार संवाददाता) लमजुङ, २४ असार २०८३ बुधबार । जिल्लामा बढ्दो लागुऔषध प्रयोग तथा बाहिरी जिल्लाबाट सीमाना हुँदै हुने ओसारपसार नियन्त्रण गर्न प्रशासन र सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी कडा बनाएका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी तथा इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईसहितको संयुक्त टोलीले तनहुँसँग जोडिएको सुन्दरबजार नगरपालिका–९ पाउँदी बजार र गोरखासँग जोडिएको राइनास नगरपालिका–७ गरमबेसी सीमाक्षेत्रमा स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा सम्भावित लागुऔषध ओसारपसारका जोखिमयुक्त नाकाको सुरक्षा अवस्था, चेकजाँच र निगरानीको प्रभावकारिताबारे निरीक्षण गरिएको छ।अनुगमनपछि प्रमुख जिल्ला अधिकारी खनालले जिल्लाका सबै सीमावर्ती सुरक्षा निकायलाई लागुऔषध ओसारपसार हुन नदिन प्रभावकारी सुरक्षा जाँच सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले इलाका प्रहरी कार्यालय भोटेओडार, अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिलीकुवाका इन्चार्जलाई सीमाक्षेत्रमा निगरानी थप सुदृढ बनाउन, कुनै पनि अवैध गतिविधि हुन नदिन कडाइका साथ सुरक्षा व्यवस्था मिलाउन र सूचना संकलनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले तनहुँसँग जोडिएको पाउँदी क्षेत्रमा विगत केही महिनामा लागुऔषधसहित पक्राउ पर्ने घटना भए पनि पछिल्ला तीन महिनामा त्यस्तो घटना नदेखिएको जानकारी दिए। उनले त्यसलाई सकारात्मक संकेतका रूपमा लिए पनि जोखिम कायमै रहेकाले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाईलाई उच्च सतर्कताका साथ निगरानी बढाउन निर्देशन दिइएको बताए।

यस्तै, हालै इलाका प्रहरी कार्यालय भोटेओडारको नेतृत्व सम्हालेकी प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले पाउँदी तथा चेपे–गोरखा सीमाक्षेत्रबाट लागुऔषध ओसारपसार हुन नदिन सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको र अस्थायी प्रहरी पोस्ट पाउँदी तथा धमिलीकुवालाई उच्च सतर्कतामा राखिएको जानकारी दिइन्। अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीका अनुसार जिल्लामा बढ्दो लागुऔषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट हुने सम्भावित ओसारपसार नियन्त्रणका लागि स्थलगत निरीक्षण गरिएको हो। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले आगामी दिनमा पनि सीमाक्षेत्रमा नियमित अनुगमन, कडा निगरानी र समन्वयात्मक सुरक्षा अभियानलाई निरन्तरता दिँदै लागुऔषध नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।














