हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको मर्श्याङ्दी अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण, आगामी वर्षदेखि सेवा सञ्चालन

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २४ असार २०८३ बुधबार । लमजुङकम मर्श्याङ्दी गाउँपालिका–७ ङादीमा निर्माण सम्पन्न भएको १० शैयाको मर्श्याङ्दी अस्पताल भवन औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा निर्माण सम्झौता भई सुरु गरिएको अस्पताल भवन निर्धारित प्राविधिक मापदण्डअनुसार निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायी श्रृंखला निर्माण सेवा प्रालि, बिदुर–४, नुवाकोटले गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

भवन हस्तान्तरणसँगै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि अस्पताल सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार अस्पताल भवन करिब ६ करोड १८ लाख ७९ हजार ४ सय ८१ रुपैयाँको लागतमा निर्माण गरिएको हो। दुईतले आरसीसी संरचनामा निर्माण भएको भवनमा बिरामी उपचारका लागि आवश्यक उपचार कक्ष, १५ वटा शौचालय, स्यानिटरी तथा विद्युतीय जडान, खानेपानी आपूर्तिका लागि मोटर र ट्याङ्की तथा १०० केभीए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ।अध्यक्ष गुरुङले भवन निर्माण सम्पन्न भएसँगै अब अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण जडान तथा सेवा सञ्चालनका तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

आगामी आर्थिक वर्षदेखि अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्य रहेको उनको भनाइ छ।गाउँपालिकाका अनुसार अस्पताल सञ्चालनमा आएपछि मर्श्याङ्दी गाउँपालिकाका नागरिकले आफ्नै पालिकाभित्र सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने बाध्यता कम हुने विश्वास गाउँपालिकाले लिएको छ। स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यसहित निर्माण गरिएको अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button