प्रहार समाचार । काठमाडौं, १५ जेठ २०८३ शुक्रबार । सरकारले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई आगामी आर्थिक वर्षको मुख्य प्राथमिकतामा राख्दै नेपाललाई ‘टेकहब’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि पूर्वाधार विस्तारमा सरकारले “अर्जुनदृष्टि” राख्ने बताएका हुन् ।

उनले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत शेयर कायम राखेर बाँकी शेयर चालु वर्षकै पुस मसान्तभित्र सर्वसाधारणलाई बिक्री गरिने घोषणा गरे । शेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई प्रविधिमैत्री राष्ट्र तथा ‘टेकहब’ बनाउने अभियानमा खर्च गरिने उनले बताए । सरकारले सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने, नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानुनी व्यवस्था मिलाउने तथा रिमोट वर्कलाई प्रोत्साहन गर्ने नीति पनि ल्याएको छ । सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर खरिदलाई एउटै निकायमार्फत व्यवस्थित गरिने तथा डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा लगानी बढाइने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
बजेटमार्फत नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरिएको छ भने नागरिक एपमा थप दर्जनौं सरकारी सेवा आबद्ध गरिने भएको छ ।सरकारले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा पनि ठूलो महत्वाकांक्षी योजना अघि सारेको छ । अर्थमन्त्री वाग्लेले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो “सार्वभौम एआई कम्प्युट केन्द्र” स्थापना गरिने घोषणा गरे । उनका अनुसार हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरेर एआई उद्यमी, अनुसन्धानकर्ता र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइनेछ ।स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने नीति लिएको सरकारले ऊर्जा र प्रविधिलाई जोडेर डिजिटल अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।
सरकारले एआईमार्फत सीपयुक्त रोजगारी सिर्जना, डिजिटल सेवा निर्यात विस्तार तथा आर्थिक रूपान्तरणको नयाँ आधार तयार हुने विश्वास व्यक्त गरेको छ ।आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्काएर योगदान गर्न आह्वान गरिने पनि बजेटमा उल्लेख छ । सरकारले एआई युगलाई लक्षित गर्दै गणितसहितका प्राविधिक तथा वैज्ञानिक विषयलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।
























