हेडलाईनसमाचारबागमती

बजेटमा शब्द नयाँ, संरचना पुरानै : बाबुराम भट्टराई

प्रहार समाचार । काठमाडौं, १५ जेठ २०८३ शुक्रबार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई शब्द र प्रस्तुतीकरणका हिसाबले आकर्षक भए पनि संरचनात्मक रूपमा अपेक्षित परिवर्तन देखिन नसकेको टिप्पणी गरेका छन् । गाउँको आँगनमा बसेर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले प्रस्तुत गरेको बजेट भाषण सुन्दा आफूलाई “रोमान्चक अनुभूति” भएको उल्लेख गर्दै उनले बजेटको शैली र भाषालाई नयाँ पुस्तामैत्री रहेको बताएका हुन्।

भट्टराईले बजेटले नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली तथा कर्मचारी वर्गलाई आकर्षित गर्ने प्रयास गरेको बताएका छन्। उनले बजेटमा निजी लगानी र प्रविधिमैत्री नीतिलाई प्राथमिकता दिइएको देखिएको प्रतिक्रिया दिएका छन्।उनले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ‘अधिकारसम्पन्न प्राधिकरण’ मार्फत अगाडि बढाउने सरकारी निर्णयप्रति सन्तोष व्यक्त गरेका छन्।

लामो समयदेखि अन्योल र आशंकामा रहेको उक्त परियोजना आफूले सुरुवातमै प्रस्ताव गरेअनुसारकै मोडलमा अघि बढाउन खोजिएको भन्दै उनले त्यसलाई सकारात्मक कदमको रूपमा व्याख्या गरेका हुन्।तर समग्र बजेटको गहिराइमा पुगेर हेर्दा आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन तथा वित्तीय संघीयताको पक्षमा खासै नयाँपन नदेखिएको भट्टराईको टिप्पणी छ। बजेट वक्तव्यमा उल्लेख गरिएजस्तो ‘संरचनात्मक सुधारको नयाँ चरण’ कसरी पूरा हुन्छ भन्नेमा आफू आश्वस्त हुन नसकेको उल्लेख गर्दै उनले सरकारलाई शुभकामना भने दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button