• चेतना नहर्की (प्रहार समाचार) काठमाडौँ, १६ बैशाख २०८३ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टीका( रास्वपा) का सभापति रवि लामिछानेले अबको राजनीति “मालिक बन्ने” होइन, “सेवक र सहजकर्ता बन्ने” बाट सुरु हुनुपर्ने बताउँदै सत्ता परिवर्तनसँगै सार्वजनिक सेवाको संस्कार नै फेरिनुपर्नेमा जोड दिए।

पार्टीको आज बसेको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले सरकारको कार्यशैली, संगठन विस्तार र जनअपेक्षा सम्बोधनबारे स्पष्ट निर्देशन दिएका छन्। बैठकमा उनले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयगत कामको प्रभावकारिता बढाउन सचिवसहितको समन्वय बैठक निश्चित समय अन्तरालमा गरिने जानकारी दिए। उनले सांसदको पहिलो दायित्व कानुन निर्माण भएको स्मरण गराउँदै त्यस क्रममा व्यक्तिगत स्वार्थभन्दा संस्थागत सुधारलाई प्राथमिकता दिन आग्रह गरे।
सार्वजनिक गुनासो व्यवस्थापन प्रणाली “हेल्लो सरकार” लाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताए। गुनासोको ट्र्याकिङ र समाधान प्रक्रियालाई पारदर्शी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम अघि बढाइएको उनको भनाइ थियो। साथै, उनले संगठन निर्माणमा सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक सक्रिय हुन निर्देशन समेत दिए । द
सामाजिक विषयतर्फ संकेत गर्दै उनले अन्तरजातीय विवाहका नाममा भइरहेका विभेद र दुर्घटना रोक्न पहल आवश्यक रहेको बताए। तर घटनास्थलमा पुग्दा जनप्रतिनिधिले मर्यादा नबिर्सनुपर्ने चेतावनी पनि दिए। त्यस्तै, खाडी क्षेत्रमा देखिएको द्वन्द्वका कारण बजार मूल्यमा परेको असरबारे सरकार जानकार रहेको र त्यसलाई सम्बोधन गर्न गम्भीरतापूर्वक काम भइरहेको उनले उल्लेख गरे।
सुकुम्बासी व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न विशेष आयोग गठन गरी काम अघि बढाइने तयारी रहेको बताउँदै उनले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिँदै आएको जानकारी दिए। “सरकारले कसैलाई घरबारविहीन बनाउने छैन,” उनले स्पष्ट पार्दै गास, बास, कपास र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा राखे। यस विषयलाई ‘भोट बैंक’ को राजनीतिकरण नगर्न पनि उनले चेतावनी दिए।
अध्यादेशमार्फत सुधारका कदम चालिएको विषयमा बोल्दै लामिछानेले विगतका गलत नियुक्ति र दलियकरण नसच्याएसम्म जनअपेक्षा पूरा गर्न नसकिने बताए। अहिलेको अध्यादेश कसैलाई लक्षित नभई संरचनागत सुधारका लागि ल्याइएको दाबी गर्दै उनले संवैधानिक निकायमा रिक्त पदपूर्ति र निर्णय प्रक्रियालाई सहज बनाउन सक्रियता देखाउनुपर्ने बताए।
बैठकमा उनले नियमित छलफललाई निरन्तरता दिइने र आवश्यक परे लिखित रूपमा सुझाव दिन सांसदहरूलाई आग्रह गरे। साथै, पार्टीमा आउन चाहनेलाई स्वागत गर्दै अवसरभन्दा पहिले योगदान र प्रमाणित क्षमतामा जोड दिनुपर्ने सन्देश दिएका छन्।


























