प्रहार समाचार । २ वैशाख २०८३ । काठमाडौ । मलेसियाको अध्यागमन विभागले नक्कली कागजातमार्फत आप्रवासी कामदार ल्याउने आरोपमा ३ नेपालीसहित ९ जनालाई पक्राउ गरेको छ। राजधानी क्वालालम्पुरका ६ स्थानमा सोमबार र मंगलबार गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन्। उनीहरूको उमेर २६ देखि ६१ वर्षबीच रहेको छ।

अध्यागमन महानिर्देशक जाकारिय शअबानका अनुसार उक्त गिरोह ७ वर्षदेखि सक्रिय रहेको र करिब १० करोड मलेसियन रिङ्गेट अवैध आम्दानी गरेको अनुमान गरिएको छ। सार्वजनिक सूचना र सञ्चार माध्यमका आधारमा करिब ६ महिनाको अनुसन्धानपछि कारबाही गरिएको उनले बताए।कारबाहीका क्रममा ई–पास, सुरक्षा स्टिकर, विभिन्न देशका १११ राहदानी, १० ल्यापटप, ६ मोबाइल र नगद बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानले गिरोहले प्रति व्यक्ति ५–६ हजार रिङ्गेट असुल्दै अवैध रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने गरेको देखाएको छ।पक्राउ पर्नेमा ४३ वर्षीय महेन्द्रजंग शाही पनि छन्, जसलाई मुख्य अभियुक्त मानिएको छ। उनी एनआरएन मलेसियाका पूर्वअध्यक्ष समेत हुन् र यसअघि सन् २०१६ मा पक्राउ परेर डिपोर्ट भएका थिए।























