शिक्षाहेडलाईनव्यासगण्डकी

तनहुँको रिस्तीमा व्यास ८ को आधुनिक प्रशासनिक भवनको उद्घाटन : सेवा प्रवाह थप चुस्त हुने अपेक्षा

प्रहार समाचार । तनहुँ, २ बैशाख २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–८, रिस्तीमा नव निर्मित वडा प्रशासनिक भवन उद्घाटनसँगै स्थानीय सेवा प्रवाहलाई थप प्रभावकारी र छरितो बनाउने अपेक्षा गरिएको छ। नयाँ संरचनाले नागरिकलाई एकै स्थानबाट सहज सेवा लिन सक्ने वातावरण तयार पारेको भन्दै सरोकारवालाहरूले यसको महत्त्व औंल्याएका छन्। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले वडा कार्यालय जनताको सबैभन्दा नजिकको सरकार भएकाले यहाँबाट निस्पक्ष, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड दिए। उनले नयाँ भवनले सेवाको गुणस्तर बढाउनुका साथै कर्मचारी र सेवाग्राही दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

उप प्रमुख इन्दिरा दरैले विकासका पूर्वाधारसँगै सेवा प्रणाली पनि सुदृढ हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहको विश्वास जित्ने माध्यम नै प्रभावकारी सेवा प्रवाह भएको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आधुनिक संरचनाले प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउने र समयमै सेवा उपलब्ध गराउन सहयोग पुग्ने धारणा राखे।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष ओजराज पौडेल, वडा नं. ४ का अध्यक्ष मनबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा सदस्य विष्णुमाया राना लगायतले नयाँ भवन निर्माणसँगै वडावासीले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधि नेत्र रेग्मी, सूर्यचन्द्र लम्साल, तिला रेग्मी र कार्यपालिका सदस्य चन्द्रमायाँ परिचारलगायतले पनि विकास निर्माणमा सहकार्य आवश्यक रहेको बताएका थिए।

सो अवसरमा वडा प्राविधिक विशाल थापाले भवन निर्माणको विवरण सार्वजनिक गर्दै ७४ लाख २२ हजार ४ सय ५ रुपैयाँको लागतमा करिब १२ महिनामा भवन सम्पन्न भएको जानकारी दिए। दुई तले आरसिसी संरचनामा चार कोठा र ४० जनाभन्दा बढी अट्ने सभाहल रहेको छ।

वडा अध्यक्ष युवराज गुरुडको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वडा सचिव काजिमान गुरुडले गरेका थिए ।

नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयले सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने जनाएको छ। त्यस अबसरमा वडा का बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button