प्रहार समाचार । काठमाडौं, २ वैशाख २०८३ बुधवार । सरकारले पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रलाई १ खर्ब डलरमा पुर्याउने लक्ष्यसहित प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामा आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।

मस्यौदामा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, खनिज, सहकारी तथा लघुवित्त क्षेत्रको समग्र सुधारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने योजना समेटिएको छ। ‘रेन्ट सिकिङ’, कार्टेलिङ, अस्वस्थ प्रतिस्पर्धा र कृत्रिम अभावको अन्त्य गर्दै नवप्रवर्द्धन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गरिने उल्लेख छ। निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकका रूपमा परिचालन गर्दै लगानीका लागि भयरहित वातावरण र सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिइने पनि जनाइएको छ।

यसैगरी, डिजिटल अर्थतन्त्रलाई वृद्धि र रोजगारीको मुख्य आधारका रूपमा विकास गर्ने, कर प्रणालीमा स्थायित्व ल्याउने तथा उद्योग दर्ता लगायतका प्रक्रिया कागजविहीन बनाउने लक्ष्य राखिएको छ। साथै पाँच वर्षभित्र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने योजना पनि समेटिएको छ।तर, अर्थविद्हरूले यस्ता लक्ष्यहरू महत्वाकांक्षी भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने बताएका छन्।



























