• चेतना नहर्की । काठमाडौँ, १ बैशाख २०८२ मंगलबार । महानगरपालिकाले नयाँ वर्ष २०८३ को अवसर पारेर आज बाट राजधानीमा रात्रिकालीन सार्वजनिक यातायातको सुरुवात गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोल ले सुरक्षित, व्यवस्थित र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्युतीय बस सेवा सञ्चालनमा ल्याइएको घोषणा गरेकी हुन्। साझा यातायातसँगको सहकार्यमा सुरु गरिएको सेवा राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रारम्भिक चरणमा बुढानीलकण्ठदेखि लगनखेल र एयरपोर्टदेखि थानकोटसम्म दुई वटा मुख्य रुट निर्धारण गरिएको छ। यात्रुको सहजताका लागि प्रत्येक २० मिनेटमा बस उपलब्ध गराइने व्यवस्था गरिएको महानगरले जनाएको छ।

सेवा सञ्चालनमा यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक बसमा सिसिटिभी जडान गरिनुका साथै एक जना नगरप्रहरीको उपस्थिति सुनिश्चित गरिएको छ।

यो सेवा काठमाडौँ महानगरपालिकासँगै ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिका को सहकार्यमा सञ्चालन गरिएको हो। महानगरले आगामी दिनमा अन्य स्थानीय तह तथा सरोकारवालासँग समन्वय गर्दै उपत्यकाभरि सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।



























