• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुड , १ बैशाख २०८३ मंगलबार । मनाङको नासोँ गाउँपालिका–३, धारापानी क्षेत्रमा सिमेन्ट बोकेको दश चक्के ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको उपचारकै क्रममा ज्यान गएको छ। आज बिहान करिब १०:३० बजेतिर बेँसीसहरबाट मनाङको कोतोतर्फ जाँदै गरेको बा.प्र. ०६००१ क ०४६१ नम्बरको ट्रक सडकबाट करिब ६० मिटर तल खस्दा चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा लमजुङको सुन्दरबजार नगरपालिका घर भई हाल मर्श्याङ्दी गाउँपालिका–९, सिम्पानी बस्दै आएका करिब ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्। उनलाई उद्धार गरी तत्कालै बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचारका लागि ल्याइएको भए पनि दिउँसो करिब २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।
मनाङ मर्श्याङ्दी जलविद्युत आयोजनाका लागि सिमेन्ट बोकेर जाँदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। मृतक गुरुङको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























