प्रहार समाचार । तनहुँ, १ बैशाख २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिका -२, दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद उपाध्याय पौडेल, शिक्षकहरु तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई व्यास नगरपालिकाले सम्मान गरेको छ।

पालिकाको ४३औँ स्थापना दिवसको अवसरमा हिंजो आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कार्यक्रममा कक्षा १० का ३० जना, कक्षा १२ का २८ जना तथा कक्षा ८ का ७ जना विषयगत शिक्षकहरूलाई समेत पुरस्कृत गरिएको थियो । त्यस्तै कक्षा १० एसईई र कक्षा १२ मा उच्च जिपिए ल्याई उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

सम्मानित हुनेमा कक्षा १० तर्फ अन्वेशिका शर्मा (३.९८), आयम आले (३.९७) र सुदर्शन कैनी (३.९७) रहेका छन् भने कक्षा १२ तर्फ विपिन श्रेष्ठ (३.९६), कृष्टिना पन्ध (३.९६), सोमन श्रेष्ठ (३.९५) र सचिन श्रेष्ठ (३.८६) रहेका छन्। यसैगरी, कक्षा ८ मा ४ जिपिए ल्याउन सफल सुरभि जोशीलाई पनि विशेष रूपमा सम्मान गरिएको छ। कार्यक्रममा कक्षा १० का ३० जना, कक्षा १२ का २८ जना तथा कक्षा ८ का ७ जना विषयगत शिक्षकहरूलाई समेत पुरस्कृत गरिएको थियो।

व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र नगर शिक्षा अधिकारी केदारराज आचार्य लगायतले संयुक्त रूपमा सम्मान तथा पुरस्कार वितरण गरेका थिए।

सो अवसरमा नगर प्रमुख न्यौपानेले उत्कृष्ट शैक्षिक उपलब्धिले नगरको गौरव बढाएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकलाई थप प्रेरणा मिल्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले शैक्षिक गुणस्तर सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।

नगर शिक्षा अधिकारी आचार्यले निरन्तर मेहनत र अनुशासनले मात्रै उत्कृष्टता सम्भव हुने बताए।

प्रधानाध्यापक पौडेलले विद्यालयका तर्फबाट प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरे।



























