हेडलाईनसमाचारप्रदेश

मौन अवधिअघि लामिछानेको सन्देश : “फागुन २१ परिवर्तनको घण्टी बज्ने दिन”

प्रहार समाचार । काठमाडौं, १८ फागुन २०८२ सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचन २०८२ को मौन अवधि सुरु हुनुअघि भिडियो सन्देश सार्वजनिक गर्दै परिवर्तन र सुशासनको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन्। उनले फागुन २१ लाई “चेतनाको घण्टी बज्ने दिन”को संज्ञा दिँदै कुशासन र अहङ्कारको राजनीति पराजित हुने दाबी गरे।

लामिछानेले युवाहरूको आवाज दबाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्तिको आलोचना गर्दै अब संसदमा त्यस्ता प्रवृत्तिहरूको स्थान नहुने बताए। उनले विगतमा कुशासनसँग जोडिएका पात्रहरू संसदमा नदेखिने दाबी गर्दै परिवर्तनको नेतृत्व नयाँ सोच र नयाँ अभ्यासबाट हुने उल्लेख गरे।
आफू चुनाव जिते पनि संसद् प्रवेश गर्न नपाउने भन्ने कुप्रचार फैलाइएकोप्रति आपत्ति जनाउँदै उनले संसद् नियमावली ननमिचेसम्म कसैले रोक्न नसक्ने स्पष्ट पारे। अब बन्ने संसद् विगतजस्तो नहुने, न त त्यस्तै सभामुख रहने, न त अत्याचार दोहोरिने उनको भनाइ थियो।


चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले मतदाताको पूर्ण प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाए। देशभरका ‘घण्टी’ चुनाव चिन्हका उम्मेदवारहरूले पनि मतदाता र देशले गौरव गर्ने खालको काम गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button