प्रहार समाचार । दोहा (कतार), १८ फागुन २०८२ सोमबार । मध्यपूर्वमा विकसित विशेष परिस्थितिका कारण कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन नेपाली राजदूतावास, दोहा ले पुनः विशेष अनुरोध गरेको छ। दूतावासल आज जारी गरेको ‘विशेष अनुरोध–२’ मार्फत अफवाह नफैलाउन, आधिकारिक सूचनामात्र विश्वास गर्न र अत्यावश्यक कामबाहेक घरभित्रै सुरक्षित बस्न आग्रह गरेको हो।

दूतावासका अनुसार कतारको आधिकारिक निकायबाट आउने सूचना र निर्देशनअनुसार मात्रै गतिविधि गर्नुपर्नेछ। कतारी हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने जनाउँदै अद्यावधिक जानकारीका लागि Qatar Civil Aviation Authority को वेबसाइट हेर्न भनिएको छ। साथै, दोहा ट्रान्जिटमा अलपत्र परेका वा आकस्मिक स्वास्थ्य समस्या परेका नेपालीले तुरुन्त दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
दूतावासले सामाजिक सञ्जालमा घटनास्थलका तस्बिर/भिडियो सेयर नगर्न, भिडभाड हुने स्थानमा नजान, शंकास्पद वस्तु वा अपरिचित शव नजिक नजान र सिसा–झ्यालबाट टाढा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। मोबाइल फोन चार्ज राख्न, केही नगद तथा महत्वपूर्ण परिचयपत्र साथमा राख्न र नेपालस्थित परिवार तथा स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि सुझाइएको छ।
यसैबीच, पछिल्लो समय ठगी गर्ने समूहले फोनमार्फत व्यक्तिगत विवरण मागेर दुःख दिने गुनासो आएको भन्दै दूतावासले कतारी आइडी, राहदानी, बैंक खाता वा एटीएम कार्डसम्बन्धी विवरण कसैलाई नदिन चेतावनी दिएको छ। आपतकालीन अवस्थामा प्रहरी, आगजनी वा एम्बुलेन्सका लागि ९९९ नम्बरमा सम्पर्क गर्न सकिने तथा आवश्यक परे दूतावास, अस्पताल र एयरलाइन्सका सम्पर्क नम्बर प्रयोग गर्न पनि आग्रह गरिएको छ।

























