प्रहार समाचार । काठमाडौं, १८ फागुन २०८२ सोमबार । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमण जारी रहेकै समयमा कुवेतमा अमेरिकी सेनाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। कुवेतको रक्षा मन्त्रालयले घटनाको पुष्टि गर्दै दुर्घटनामा परेका सबै विमानका पाइलट तथा क्रू सदस्यहरू सुरक्षित रहेको जनाएको छ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार दुर्घटनालगत्तै आपतकालीन खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्य छिटो सम्पन्न भएकै कारण चालक दलका सबै सदस्यहरूलाई सुरक्षित रूपमा नजिकको अस्पताल पुर्याउन सफल भएको मन्त्रालयको भनाइ छ। अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था स्थिर छ र ज्यान जाने खालको चोट कसैलाई लागेको छैन।
दुर्घटनाको कारणबारे भने अझै स्पष्ट खुलाइएको छैन। कुवेतको रक्षा मन्त्रालयले घटनाबारे आन्तरिक छानबिन सुरु भइसकेको जानकारी दिएको छ। प्रारम्भिक रूपमा प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिए पनि यो कुनै बाह्य आक्रमणको परिणाम हो वा होइन भन्ने विषयमा आधिकारिक निष्कर्ष आइसकेको छैन।
यो घटना इरानविरुद्ध अमेरिका र इजरायलले थालेको संयुक्त हवाई कारबाहीको तेस्रो दिन सार्वजनिक भएको हो। यसैबीच, इरानले छिमेकी अरब मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी हमला जारी राखेको दाबी गरेको छ। ती आक्रमणका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको देखिन्छ।
सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एक भिडियोमा कुवेतमा दुर्घटनाग्रस्त हुनुअघि एक अमेरिकी लडाकु विमानका क्रू सदस्यहरू विमानबाट बाहिर निस्कँदै प्यारासुटमार्फत सुरक्षित अवतरण गरेको दृश्य देखिएको छ। उक्त भिडियोको सत्यताबारे आधिकारिक पुष्टि नभए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC ले जनाएको उल्लेख गरेको छ।
मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच कुवेतमा भएको यो घटनाले क्षेत्रीय सुरक्षा र अमेरिकी सैन्य गतिविधिमाथि थप चासो बढाएको छ। युद्धको चपेटामा परेको खाडी क्षेत्र अब झन् अनिश्चित र संवेदनशील चरणमा प्रवेश गरिरहेको विश्लेषकहरूको भनाइ छ।

























