हेडलाईनसमाचारप्रदेश

आज राति १२ बजेदेखि मौन अवधि सुरु : चुनाव प्रचारमा पूर्ण रूपमा रोक, के के गर्न हुँदैन ?

प्रहार समाचार । काठमाडौँ,१८ फागुन २०८२ सोमबार । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि लागू भएसँगै चुनावी मैदानमा देखिएको चहलपहल कानुनी रूपमा पूर्ण रूपमा रोक लाग्नेछ।

निर्वाचन आयोग, नेपाल ले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक र आम नागरिकलाई कानुनको दायराभित्र रहेर गतिविधि गर्न कडा निर्देशन दिएको छ। आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, जुलुस, प्रदर्शन, भोज–भतेर, बाजागाजा, नाचगान वा हुलहुज्जत गर्न पाइँदैन। यति मात्र होइन, सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष–विपक्षमा सन्देश पोस्ट गर्ने, सेयर गर्ने, लाइभ जाने वा प्रचार सामग्री प्रसारण गर्ने कार्य पनि निषेध गरिएको छ। साउण्ड सिस्टम, एसएमएस, फोन कल, म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता माध्यम प्रयोग गरी मत माग्नु कानुनविपरीत मानिनेछ।
मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान नसकिँदासम्म मतदान केन्द्र, मतदाता वा खटिएका कर्मचारीलाई कुनै पनि प्रकारले बाधा पुर्‍याउन पाइँदैन। मतदान केन्द्र रहेको घर, भवन वा आसपासको क्षेत्रमा भय, त्रास सिर्जना गर्ने, भीडभाड गर्ने वा शान्ति भंग गर्ने गतिविधि गर्न कडाइ गरिएको छ। मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका सबै प्रचार सामग्री मतदान हुनुभन्दा ४८ घण्टा अगावै हटाउनुपर्नेछ भने सामाजिक सञ्जालमार्फत राखिएका विज्ञापन तथा प्रायोजित सामग्रीसमेत हटाउनुपर्ने आयोगको स्पष्ट निर्देशन छ।


आयोगले मौन अवधिको उल्लङ्घन गरे निर्वाचन कसुर ऐनअनुसार जरिवाना, उम्मेदवारी रद्ददेखि कानुनी कारबाहीसम्म हुन सक्ने चेतावनी दिएको छ। त्यसैले अब चुनावी प्रतिस्पर्धा भाषण र भीडबाट होइन, मतपेटिकाभित्रको मतबाट तय हुनेछ। प्रहार अनलाइनको आग्रह छ—मौन अवधिलाई सम्मान गरौं, शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सबैले जिम्मेवार बनौं।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button