प्रहार समाचार । रामेछाप,१८ फागुन २०८२ सोमबार । निर्वाचन सामग्री तथा कर्मचारी बोकेर मतदान केन्द्रतर्फ गइरहेको ट्रक रामेछापमा दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ।

मन्थलीस्थित मन्थली अस्पतालका प्रमुख डा. केशव धामीका अनुसार उपचारका क्रममा डोरप्रसाद घिमिरेको निधन भएको हो।
मृतक घिमिरे रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए। उनी मन्थली नगरपालिका–७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत हुन्। निर्वाचनको जिम्मेवारी लिएर निस्किएका शिक्षक–कर्मचारीको यसरी ज्यान जानुले स्थानीय स्तरमा शोकको वातावरण सिर्जना भएको छ। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरी का असई आरपी यादवको मृत्यु भएको थियो।

दुर्घटना सोमबार अपरान्ह रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरमा भएको हो। निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक अचानक अनियन्त्रित भई भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् भने ३ जना समयमै गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।
शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रविराज खड्काका अनुसार उनीसहित तीन जना गाडीबाट बाहिर निस्किन सफल भएका हुन्। दुर्घटनामा घाइते भएका २ पुरुष र ३ महिलालाई थप उपचारका लागि नेपाली सेना को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए। निर्वाचनको संवेदनशील समयमा भएको यो दुर्घटनाले कर्मचारीको सुरक्षा, यातायात व्यवस्थापन र जोखिमपूर्ण सडक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

























