प्रहार समाचार । तनहुँ , १८ फागुन २०८२ सोमबार । प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यवस्थापनका कारण जिल्ला प्रशासन कार्यालय, तनहुँले केही अत्यावश्यक प्रशासनिक सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनमा कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले फागुन १९ गते नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्र, पेन्सन सिफारिस तथा नाबालक परिचयपत्र सम्बन्धी सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार निर्वाचनको तयारी र कर्मचारी परिचालनका कारण नियमित सेवा प्रवाह गर्न नसकिने अवस्था आएको हो। यसैबीच नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा परेकाले ती दिन पनि कुनै सेवा सञ्चालन नहुने स्पष्ट गरिएको छ। यसले गर्दा नागरिकलाई प्रशासनिक कामका लागि केही दिन कुर्नुपर्ने अवस्था बनेको छ।
जिल्ला प्रशासन कार्यालय, तनहुँले फागुन २५ गतेदेखि सबै सेवा नियमित रूपमा सुचारु हुने जानकारी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक रेग्मीले जारी गरेको सूचनामा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्वाचनको यस अवधिमा आवश्यक सहकार्य गर्न सबैमा आग्रह गरिएको छ।


























