प्रहार समाचार । काठमाडौँ, १४ मंसिर २०८२ आइतबार । नेपाली कांग्रेसमा १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा महिनौँदेखि चलेको मतभेद अन्ततः सहमतिमा रूपान्तरित भएको छ। सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश लेखकको प्रस्ताव वरिपरि सहमति बनाउन आग्रह गरेपछि पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिका ल्याउने निर्णयमा नेताहरू उभिएका हुन्। लेखकले प्रस्तुत गरेको व्यवहारिक कार्ययोजनाले पार्टीलाई विवादको काँडाघारीबाट निकाल्ने आधार बनेको नेताहरूको बुझाइ छ। तस्बिर : फाइल फोटो ।

गत असोज २८ देखि चलिरहेको केन्द्रीय कार्यसमिति बैठक आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि कि पछि महाधिवेशन गर्ने भन्ने विषयमै रोकिएको थियो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागसहित दबाबमूलक भेला गर्दै आएका थिए भने संस्थापन पक्षका शीर्ष नेताहरू चुनावअघि नेतृत्व परिवर्तन असम्भव भएको तर्कमा थिए। लगातारका भेला, आरोप–प्रत्यारोप र कठोर धारहरूबीच पार्टी विभाजनको आशंका समेत बढेको थियो।
यही संवेदनशील घडीमा लेखकले प्रस्तुत गरेको मध्यमार्गी प्रस्तावले दुवै समूहलाई साझा निष्कर्षमा ल्याएको हो। सुरुमा संस्थापन पक्षका केही नेताबाट अस्वीकृति भए पनि अन्ततः पुसभित्रै नियमित महाधिवेशन गर्ने सहमति बनेको छ। अब विधान संशोधन, क्रियाशील सदस्यता स्पष्टिकरण र महाधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने प्रक्रिया अघि बढाइने पार्टी स्रोतले जनाएको छ।



























