हेडलाईनविचारसाहित्यप्रदेश

सुर्खेतको घाम झुल्किनुअघि : स्मृतिको स्पर्श र साहित्यिक भेटघाट

‘घण्टाघरले ट्वाङ–ट्वाङ गरिरहेको थियो, मानौँ शहरले हामीलाई स्वागत गरिरहेको होस्। पुरानो रेडियो नेपाल भवनको आँगनमा पाइला टेक्दा २०५० को अन्त्यतिरको मेरा यादहरू एकाएक जागे—स्टुडियो, माइक्रोफोन, त्यो वातावरण, ती साथीहरू… स्मृतिहरूको चाङ्ग फेरी मनमा थुप्रियो।’ भन्दै साहित्यकार डा. नवराज लम्साल आफ्नो मिठो सुर्खेत यात्राको बारेमा सम्झदै लेख्छन् :

सुर्खेतको घाम उघ्रिनुअघि नै मेरो निद्रा खुल्यो। बिहानी छिर्नु नछिर्नु अघि नै उठेँ, अनि चलङ्मलङ गर्दै थियो– मेरी सानी साथी आयराले पनि आँखा उघारिन्। घरमा सबैले बिहान तातेको पानी पिउन भन्थे, तर मलाई सधैँजस्तै चिसो पानी नै रुच्यो। नित्यकर्म सकाएर हामी छतमा निस्कँदा घाम भने हतारिएको थिएन—सुर्खेतको क्षितिजमा उज्यालो आउन बाँकी नै थियो।

उपत्यकाबाट बग्दै आएको चिसो हावाले कपास मुसारेजस्तो कोमल स्पर्श गर्‍यो। शान्त थियो सुर्खेत, शान्त थियो परिवेश। यो नै सुर्खेतको बिहानको अद्वितीय सौन्दर्य हो—जसले मनलाई सधैँ अड्याएर राख्छ। छतमा घुमिरहँदा हामीभन्दा अघि नै त्यहाँ डा. मधुसूदन गिरीलाई देख्यौँ। उनी प्राणायाम र ध्यानमा पूर्ण मग्न।

त्यसपछि कवि घनश्याम भण्डारी पनि थपिए। हामी चारजना भइयोँ र निस्कियौँ—सुर्खेतका बिहानहरूलाई फेरी एकपटक नजिकबाट महसुस गर्न।

घण्टाघरले ट्वाङ–ट्वाङ गरिरहेको थियो, मानौँ शहरले हामीलाई स्वागत गरिरहेको होस्। पुरानो रेडियो नेपाल भवनको आँगनमा पाइला टेक्दा २०५० को अन्त्यतिरको मेरा यादहरू एकाएक जागे—स्टुडियो, माइक्रोफोन, त्यो वातावरण, ती साथीहरू… स्मृतिहरूको चाङ्ग फेरी मनमा थुप्रियो।

यात्राका बीचमा युवा कवि तथा संस्कृतिकर्मी दीपक उपाध्याय पनि जोडिए। त्यसअघि नै मेरो संवाद खुम खड्का सर, हरिजङ्ग शाह सर र रेशम बिष्ट सरसँग भइसकेको थियो। यी तीनजना प्राध्यापकसँगको सम्बन्ध आज पनि जति नजिक छ, त्यो कुनै पुस्तकका पानाभन्दा कम महत्त्वपूर्ण छैन।

मध्यपश्चिम विश्वविद्यालयको गेटछेउको आलुचप र चिया—त्यो कम्ता मिठो थिएन। कलिलो बिहान छिप्पिँदै थियो, र हामी स्मृति र वर्तमानको दोहोरो संसारमा यात्रा गरिरहेका थियौँ।

सुर्खेतका बाटा फन्काउँदै गर्दा पुराना अनेकौँ अनुहारहरू सम्झनामा आए—आज पनि सम्पर्कमा रहेका, हिजो र आज दुवै दिनका जीवन–सहयात्रीहरू। म अहिले एउटा संस्मरण पुस्तक लेख्दैछु, र सुर्खेतले ती धेरै कथाहरू फेरि जागाइदियो।

यस यात्रा–सन्दर्भमा मुख्य उद्देश्य थियो—कवि घनश्याम भण्डारीको ‘शाश्वत सत्य’ कवितासङ्ग्रह सार्वजनिक गर्ने। उनी पुराना पत्रकार, संवेदनशील कवि, र मेरा प्रिय भाइ। २० वर्षपछि आएको उनको दोस्रो कृति, जीवनका दुःख–पीडालाई सम्हाल्दै सकारात्मकताबाट बलेको फलस्वरूप हो। कवितामा उनीजस्तै तन्नेरीहरूको पीडा, समाजको खोज, र समयको उहापोह स्पष्ट सुनिन्छ। उनका कविताका कथ्यहरू बेजोड छन्।

सुर्खेत—मलाई कहिल्यै पुरानो नलाग्ने ठाउँ।
यसको माटो, हावा, पानी, मान्छे र मायाले सधैँ नयाँ बनाइरहन्छ।

हिजो दिनभरि धेरै मायालु भाइबहिनीसँग बिताएको समय… उनीहरूको आँखा र मुस्कानमा झल्किएको माया… त्यो कुनै सागरभन्दा कम गहिरो थिएन।

यो सम्पूर्ण यात्रा–संस्मरणलाई प्रेमिलो र अर्थपूर्ण बनाइदिने कवि घनश्याम भण्डारीलाई—मनको एक गहिरो धन्यवाद।
त्यसमाथि, उनी अहिले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री पनि हुन्। प्रकाशन मिति : १५ मंसिर २०८२ सोमवार ।

• (लम्सालका यि अनुभूतिहरु हामीले सामाजिक सञ्जाल फेसबुकबाट लिएका हौं) – सम्पादक


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button