• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुड, १६ बैशाख २०८३ बुधबार । लमजुङको बेसीशहर नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने अभियानलाई प्रविधिमैत्री ढंगले अघि बढाएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखा र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन करारलाई निरन्तरता दिँदै नगरपालिकाले विगत वर्षको उपलब्धि र कमजोरीको समीक्षा गरेर अबको कार्ययोजनालाई थप व्यावहारिक बनाउने संकेत दिएको हो।नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानाध्यापकहरूले शैक्षिक सत्र २०८२ मा गरेका कामको समीक्षा गर्दै सिकाइ उपलब्धि, व्यवस्थापनका चुनौती र सुधारका सम्भावनाबारे खुलेर प्रस्तुति दिएका थिए।

छलफलका क्रममा विद्यालय सुधारका प्राथमिक क्षेत्रहरू पहिचान गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष एकमत देखिएका छन्, जसले आगामी दिनमा नतिजामुखी शिक्षा प्रणालीतर्फ अघि बढ्ने संकेत गरेको छ।यसैबीच, प्रविधिमैत्री शिक्षण सिकाइलाई थप मजबुत बनाउन नगरपालिकाले १६ वटा माध्यमिक विद्यालयलाई दुई/दुई थान र २ वटा आधारभूत विद्यालयलाई एक/एक थान ल्यापटप वितरण गरेको छ। यसअघि पनि नगरपालिकाले बालविकास केन्द्रदेखि माध्यमिक तहसम्मका विद्यालयमा एलइडी टिभी, स्मार्ट बोर्ड, प्रोजेक्टर, ई–हाजिरी मेसिन र सिसिटिभी जडान गर्दै प्रविधिमा आधारित शिक्षणलाई संस्थागत गर्ने प्रयास गरिसकेको छ।
नगरप्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पद्मा गुरुङसहितका जनप्रतिनिधि, प्रशासकीय नेतृत्व र विद्यालयका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले बेसीशहरमा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमुखी शिक्षा प्रणालीतर्फको संक्रमणलाई थप तीव्र बनाएको संकेत गरेको छ।


























