प्रहार समाचार । तनहुँ, १६ बैशाख २०८३ । तनहुँको डुम्रेबाट जिप चोरी गरी काठमाडौंसम्म पुऱ्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ वर्षीय बिपिन थापा रहेका छन् । प्रहरीका अनुसार बन्दिपुर गाउँपालिका–४ स्थित मुस्ताङ प्लाजाको होटल अगाडि मंगलबार राति पार्किङ गरेर राखिएको ग २ च ७७९३ नम्बरको जिप चोरी भएको थियो । जिप हराएको सूचना प्राप्त हुनासाथ डुम्रे प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक बिजयनाथ यादवको कमान्डमा टोली खटाइएको थियो ।
खोजीका क्रममा जिपमा जडान गरिएको जीपीएस ट्र्याकिङ प्रणालीबाट सवारीसाधन काठमाडौंको कुलेश्वर क्षेत्रमा रहेको देखिएपछि तनहुँ प्रहरीले तत्काल काठमाडौं प्रहरीसँग समन्वय गरेको थियो । त्यसपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बुधबार बिहान करिब ८:४० बजे कुलेश्वरस्थित एक अटो वर्कसपमा पार्किङ अवस्थामा जिप फेला पार्दै थापालाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर सवारीसाधनसमेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























