प्रहार समाचार । काठमाडौँ , ३ कात्तिक २०८२ सोमवार । हमासको हक्रमणपछि बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ। २४ वर्षीय जोशीको शव आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको हो।

विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरिन्। कार्यक्रममा उपस्थिति जनाउनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपालका लागि इजरायली राजदूत लगायत थिए।

त्यसपछि नेपाली सेनाको स्काई ट्रकमार्फत जोशीको शव धनगढी विमानस्थल ल्याइयो। केहीबेरअघि विमानस्थलमा पार्थिव शरीर झिकिएपछि प्रहरी स्कर्टिङसहित शवलाई कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित घरतर्फ लगिएको छ। अन्तिम संस्कार मंगलबार बिहान गरिने परिवारले जनाएको छ।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भाग अलुमिम किबुत्जमा गरेको आतङ्कवादी आक्रमणका बेला जोशीसहित अन्य नेपाली विद्यार्थीहरू बन्धक बनाइएका थिए। जोशीको अवस्था लामो समयसम्म अज्ञात रहँदा २०२५ अक्टोबर १४ मा इजरायली सरकारले उनको मृत्यु पुष्टि गरेको हो। सोही आक्रमणमा अन्य १० नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो।

जोशीको शव फिर्ता गर्न नेपालस्थित इजरायली दूतावास, इजरायली सरकार र इजरायलस्थित नेपाली दूतावासबीच समन्वय गरिएको थियो।



























