हेडलाईनसमाचारगण्डकी

ध्वनि प्रदूषण र लापरवाह सवारीविरुद्ध लमजुङ प्रहरीको कडा अभियान: १० मोटरसाइकल नियन्त्रणमा

• विजय अधिकारी ( संवाददाता) प्रहार समाचार । लमजुङ, ३ कात्तिक २०८२ सोमवार । लमजुङको विभिन्न स्थानमा स्वरूप परिवर्तन (मोडिफिकेसन) गरेर ध्वनि प्रदूषण गर्ने १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त अभियानअन्तर्गत पछिल्लो केही दिनदेखि रातिको समयमा मोटरसाइकल पड्काउँदै हिँड्ने, साइलेंसर फेरेर चर्को आवाज निकाल्ने, ट्राफिक नियम उल्लंघन गर्दै समाजमा अशान्ति फैलाउने गतिविधि गर्नेहरूलाई लक्षित गर्दै कारबाही थालिएको हो।

सदरमुकाम बेसीशहरसहित जिल्लाका मुख्य सडक र बस्तीहरूमा रातको समयमा मोटरसाइकलको आवाजले सुत्नसमेत गाह्रो भएको गुनासो स्थानीयबासीबाट बारम्बार प्राप्त भएपछि प्रहरीले कारबाहीलाई प्राथमिकतामा राखेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहराका अनुसार, यी गतिविधिहरूले समाजमा अवाञ्छित प्रभाव पारिरहेको र सम्भावित दुर्घटनाको जोखिम समेत बढाइरहेको भन्दै यस्तो अभियान चलाइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये केही पहिल्यै पनि पटक–पटक ट्राफिक नियम उल्लंघनमा परेका थिए। ती सवारी साधनहरूलाई थप कारबाहीका लागि यातायात कार्यालयमा पठाइनेछ। पहिलोपटक समातिएकाहरूलाई भने स्वरूप परिवर्तन गरेर जडान गरिएका साइलेंसर र अन्य पार्टपुर्जा हटाई पूर्ववत् अवस्थामा ल्याउन लगाउने र ट्राफिक नियम विपरीतको कार्यमा जरिवाना गरेर अभिभावकको जिम्मामा छाडिने व्यवस्था गरिएको छ।

मोटरसाइकलहरूमा हुने अवैध मोडिफिकेसन कहाँबाट भइरहेको छ भन्ने पत्ता लगाउन प्रहरीले विभिन्न वर्कसपहरूमा समेत निगरानी बढाएको छ। अवैध मोडिफिकेसन गर्ने मिस्त्री र वर्कसप सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिई उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

चर्को आवाजमा सवारी चलाउँदा विशेषगरी वृद्धवृद्धा, बिरामी, साना बालबालिका र रातको समयमा विश्राम गरिरहेकाहरूमा प्रत्यक्ष असर परेको स्थानीयहरूको भनाइ छ। यस्तो अवस्थाले सामाजिक वातावरणमा तनाव सिर्जना गर्नुका साथै युवा पुस्तामाझ लापरवाह सवारी संस्कृतिको प्रवर्द्धन गर्ने खतरा बढेको छ।

प्रहरीले यस्ता गतिविधि समाजका लागि हानिकारक भएकाले कडाइका साथ निगरानी र कारबाही जारी राखिने जनाएको छ। “सडक नियम उल्लंघन र ध्वनि प्रदूषण सह्य छैन, अब यस्ता क्रियाकलाप नियन्त्रणमा ल्याउन कुनै कसर बाँकी राखिने छैन,” डिएसपी बोहराले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button