प्रहार समाचार । काठमाडौँ, ३ कात्तिक २०८२ सोमवार । तिहारको तेस्रो दिन आज विहान सूर्योदयअघि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, तलाउ वा धारामा स्नान गरी नरक चतुर्दशी पर्व मनाएका छन्। यो पर्वमा शरीर र मनको शुद्धिका लागि पवित्र जलमा स्नान गरी, यमदीप सालको पातमा राखी दक्षिण दिशातर्फ बगाउने परम्परा छ।

शास्त्रीय विश्वासअनुसार यमदीप बगाउँदा मृत्यु पछिको नरकदर्शन टर्छ भन्ने जनविश्वास रहेको छ। यही कारण आजको दिनलाई ‘नरके बगाउने’ वा ‘नरक स्नान’ गर्ने दिनका रूपमा चिनिन्छ। यस वर्ष तिथिको मेलमिलापका कारण कुकुर तिहार पनि आजै परेको छ, जसमा कुकुरको पूजा गरिन्छ।
आज बेलुकीदेखि औँसी लाग्ने भएकाले घरघरमा लक्ष्मीपूजा समेत गरिंदैछ। तिहारलाई उज्यालोको चाड मानिने भएकाले काठमाडौं लगायत देशभरको बजार र बस्तीहरू झिलिमिली बनेका छन्। विश्वभर फैलिएका नेपाली र हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो परम्पराअनुसार आजको दिन श्रद्धाका साथ मनाएका छन्।



























