प्रहार समाचार । काठमाडौँ, ३ कात्तिक २०८२ सोमवार ।कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान र अफगानिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको जानकारी दिएको छ। विज्ञप्तिअनुसार, यो सहमति कतार र टर्कीको संयुक्त मध्यस्थतामा दोहामा भएको वार्तापछि सम्भव भएको हो।

युद्धविरामको सहमतिसँगै दुई पक्षबीच सीमामा दीर्घकालीन शान्ति र स्थिरता कायम गर्नका लागि संयन्त्र निर्माणबारे पनि छलफल भएको बताइएको छ ।
दुबै मुलुकबीचको तनाव अक्टोबर ९ देखि तीव्र बनेको थियो। पछिल्लो आक्रमणमा पाकिस्तानले शुक्रबार अफगानिस्तानको पक्तिका प्रान्तका बर्मल र उर्गुन जिल्लामा हवाई आक्रमण गरेको थियो, जसमा तीन अफगानी क्रिकेटरसहित कम्तीमा १७ जनाको ज्यान गएको थियो। घटनास्थलहरू मुख्य रूपमा आवासीय क्षेत्र थिए।
यसअघि, अक्टोबर १५ मा दुई देशबीच ४८ घण्टाको युद्धविराम भएको थियो, तर सो सहमति सकिएलगत्तै पाकिस्तानले पुनः आक्रमण गरेको थियो। अन्तर्राष्ट्रिय समुदायले यसरी युद्धविराम उल्लङ्घन भएकोप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार, पछिल्लो एक सातामा पाकिस्तानका हवाई आक्रमणहरूबाट अफगानिस्तानका ६ प्रान्तमा ३७ जना नागरिकको मृत्यु भएको छ भने ४२५ जना घाइते भएका छन्।
तालिबान सरकारले पाकिस्तानमाथि नागरिक बस्तीहरूलाई लक्षित गरेको गम्भीर आरोप लगाएको छ, भने पाकिस्तानले आफ्नो रक्षा नीति अन्तर्गत सीमावर्ती क्षेत्रमा लुकेर बसेका आतंकवादीहरूको निगरानीमा आधारित कारबाही भएको बताएको छ।



























